जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार ०७:०३

चर्चित र्यापर जी-बब र आमाबुबाले एक-अर्काविरुद्ध किन दिए प्रहरीमा उजुरी ? यस्तो छ कारण


काठमाडौं, जेठ २८ ।  चर्चित र्‍यापर सुदिप भण्डारी (जी–बब)ले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षा माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिनुभएको छ । आमा बुबाले पनि जी–बबविरुद्ध उजुरी दिएपछि प्रशासनले काठमाडौं प्रहरी कार्यालयलाई दुवै पक्षलाई राखेर छलफल गराउन निर्देशन दिएको थियो।काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि टुंगोमा नपुगेको जानकारी दिनुभयो ।

‘अब छलफल सोमबार हुन्छ’, एसपी मैनालीले भन्नुभयो । मैनालीका अनुसार भण्डारीले बुबा आमाले जबरजस्ती आफूसँग राख्न खोजेको भन्दै उजुरी दिनुभएको हो ।आफू बेग्लै बस्दा हस्तक्षेप भएको उहाँको गुनासो छ। यता उनका बुबा आमाले भने छोरा आफूसँगै बस्नुपर्ने भन्दै उजुरी दिनुभएको छ ।

लागू औषधको कुलतमा रहेका र्‍यापरलाई पटक पटक सुधार गृहमा राखिए पनि उहाँत्यहीँबाट भाग्नुभएको थियो। काठमाडौं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीपक पौडेलले शुक्रवार दिउँसो जी–बबले उजुरी लिएर आएको र लगत्तै उहाँका बुबा आमाले उजुरी लिएर आएपछि छलफलका लागि प्रहरीकहाँ पठाइएको बताउनुभयो ।‘हाम्रो सहमतिबिना जी बबलाई रिह्याबमा राखिएको भन्ने बाबुआमाको गुनासो रहेछ। जी बबले भने बुबाआमाले यातना दिएको उल्लेख गर्नुभएको छ , उहाँले भन्नुभयो ।