काठमाडौं, जेठ २८ । पहिलो बैठकमै नवनिर्वाचित मेयरलाई असहयोग गरी चर्चामा आउनु भएका काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निवासमै पुगेर मेयर बालेन्द्र साहले छलफल गर्नुभएको छ । मेयर साह आज बालाजुस्थित रिजालको घरमै पुगेर आज लञ्च मिटिङ गरेर कामनपाको संस्थागत बिकासको बिषयमा छलफल गर्नुभएको हो ।
मेयर साहले महानगरको काम कारबाहीलाई सहज बनाउने उद्देश्यका साथ वडा अध्यक्षहरूसँगको छलफल अघि बढाउने क्रममा पहिलो रोजाई रिजाल पर्नुभएको हो । सोही क्रममा शनिवार साहले वडा नम्बर १६ का अध्यक्ष रिजालको घरमै पुगेर छलफल गर्नुभएको हो । साहले फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव माग्नुभएको छ । साहले रिजालको कार्यशैलीबाट आफू निकै प्रभावित भएको कारण छलफलका लागि आएको भन्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।
कलाकार अर्जुन घिमिरे (पाँडे)सँगै रिजालको निवास पुग्नुभएका साहले झन्डै दुई घन्टा बिताउनु भएको थियो । लञ्चसहितको सो मिटिङमा रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको हो । यस्तै उहाँले आफूले पार्टीभन्दा माथि उठेर मेयरका जनमुखी र जायज अभियानमा सहयोग गर्ने बताउनु भयो ।
‘नगर प्रमुखज्युसँग छलफल भएको हो, महानगरपालिका केन्द्रित छलफल भयो,’ भेटमा सहभागी पाँडेले भने जनप्रतिनिधिहरूसँग परामर्श गर्ने नीतिअनुसार आजको भेटघाट भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्