जनता टाइम्स

१ श्रावण २०७६, बुधबार ११:५३

सामाजिक सञ्जालमार्फत ठग्ने मुख्य योजनाकारसहित तीन जना पक्राउ, यसरी गरे ठगी


काठमाडौं, साउन १ । सामाजिक सञ्जाल इमो, भाइबर, फेसबुक, ह्वाट्सएपमार्फत झन्डै पाँच करोड रुपैयाँ ठगी गर्ने गिरोहका मुख्य अभियुक्तसहित तीनजना पक्राउ परेका छन । पक्राउ पर्नेमा महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख, महोत्तरीकै गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन र भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद छन ।

महानगगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार ठगी धन्दाको मुख्य योजनाकार भारतीय नागरिक जावेद हुन । ‘सामाजिक सञ्जालमार्फत ठगियौँ भनेर उजुरी परेपछि हामी अनुसन्धानमा जुट्यौं, महिनादिनसम्म उनीहरूको ट्यान्जेक्शन हेर्दा प्रत्येक महिना न्यूनतम पनि ८० लाखको कारोबार भएको देखियो । तर, त्यसअनुसार सामान डेलिभरी नभएको पाइयो,’ एसएसपी थापाले भन्नुभयो । अभियुक्तहरुले ६ महिनादेखि यस्तो ठगी धन्दा सञ्चालन गरेको देखिएको थापाले बताउनु भयो । ‘उनीहरूले न्यूनतम पनि पाँच करोड रुपैयाँभन्दा धेरै ठगेको देखिन्छ ,’ थापाको भनाई छ ।

प्रहरीकाअनुसार ठगी धन्दाका लागि उनीहरूले ‘तारा ग्याजेड्स’ नामको पेज बनाएका थिए । पेजमा ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी तथा विभिन्न श्रृंगारिक सामग्रीको फोटो अपलोड गर्थे । पेजलाई केही अवधि बुस्ट गर्थे । सामग्री खरिद गर्न चाहनेका लागि सम्पर्क नम्बर पनि पेजमै छाडिदिन्थे । लोभिएका सर्वसाधारण सोही नम्बरमार्फत उनीहरूसँग सम्पर्क गर्थे । पेजमा मन परेको सामग्रीको मोलमोलाइ गर्थे । मूल्यमा सहमति भएपछि रकम भुक्तानीका लागि विभिन्न बैंकको खाता नम्बर दिन्थे । खातामा रकम जम्मा भएपछि उनीहरू एकाएक गायब हुन्थे ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमार्फत नै सामाग्रीको विज्ञापन गर्थे । विज्ञापनमा लोभिएका ग्राहकले उनीहरूले भनेको ठेगानामा रकम पठाइदिन्थे । तर, सामग्री भने उपलब्ध गराउँदैथे । प्रारम्भिक रूपमा यसरी ठगिएकामध्ये पाँचजनाको उजुरी परेको छ । उनीहरूकै उजुरीका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।