जनता टाइम्स

१ श्रावण २०७६, बुधबार १२:१५

क्यावात ! रामहरि खतिवडा : बाढी–पहिरोमा ज्यान गुमाउने परिवारलाई गरे नगदै सहयोग


ओखलढुंगा, साउन १ । ओखलढुंगामा बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद रामहरि खतिवडाले नगद सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद खतिवडाले जिल्लामा विपदमा परी ज्यान गुमाउनेका परिवारलाई १० हजार रुपैयाँका दरले नगद नै सहयोग गर्नुभएको हो ।

पीडामा परेकाहरुलाई समवेदना स्वरुप सहयोग गरेको नेता खतिवडाले जनताटाइम्स डटकमलाई बताउनु भयो । नेता खतिवडाले बाढी पहिरो प्रभावित परिवारका लागि विशेष कार्यक्रम ल्याएर सहयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । ‘नहुनु थियो दुखद् घटना भयो । उहाँहरुको जनप्रतिनिधि हुनुका नाताले मैले शोकको घडीमा समवेदना स्वरुप राहत पठाएँ, व्यक्तिले होईन राज्य लागेर सहयोग गर्नुपर्छ ।

मृतकका परिवारको आवश्यकताका आधार ठोस कार्यक्रम ल्याउन म सरकारसँग माग गर्दछु,’ खतिवडाले भन्नुभयो । स्थानीय सरकारले समेत आफ्नो क्षेत्रका बाढी पहिरो पीडितका लागि नतिजा मूलक काम गर्नुपर्ने पूर्वसांसद खतिवडाको भनाई थियो । मृतकका परिवारलाई उपलब्ध गराउनेगरि जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वसांसद खतिवडाले एक मुस्ट ५० हजार रकम उपलब्ध गराउनु भएको हो ।

सडक अवरुद्ध भएकाले जिल्ला आएर सहयोग हस्तान्तरण गर्न सक्ने अवस्था नरहेकाले समिति मार्फत रकम पठाउनु भएको हो । पूर्वसांसद खतिवडा मार्फत प्राप्त रकम विपद् व्यवस्थापन समितिका पदाधिकारीले पीडित परिवारलाई हस्तान्तरण गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो ।