जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार १३:५९

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, एकीकृत समाजवादी र जसपाको दबाब कायमै


काठमाडौं, ३० जेठ । मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिनुभएको छ । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ अनुहार समावेश गर्न प्रस्ताव गरेलगत्तै जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि आइतबारै बालुवाटार पुगेर आफ्ना पक्षका नेताहरूलाई मात्र मन्त्री बनाउन प्रधानमन्त्री देउवालाई दबाब बढाउनुभएको हो ।

पार्टीभित्र आफूसहित अध्यक्ष यादव र अशोक राईसहित तीनजनाको हस्ताक्षरलाई मात्रै मान्यता दिनुपर्ने जनाउँदै पार्टीभित्र आफ्नो पक्षमा बहुमत सदस्य रहेको उल्लेख गर्दै बाबुरामले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराउनुभएको हो । एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि गरेको नयाँ व्यक्तिलाई मन्त्री बनाउन गरेको सिफारिसलाई कार्यान्वयन नगरी बसेका प्रधानमन्त्री देउवालाई जसपाको पनि दबाब कायमै छ ।

तर, प्रधानमन्त्री देउवाले भने बजेटको प्रस्तावमा सबन्धित मन्त्रीहरूले जवाफ दिनुपर्ने भएकाले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगरेको चर्चा चले पनि स्वयं देउवाले भने पार्टीभित्र आफू अप्ठ्यारोमा पर्ने विषयमा बुझिदिन आग्रह गर्नुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई देउवाले ‘तपाईको पार्टीका मन्त्रीलाई बनाउनेवित्तिकै मेरो पार्टीमा पनि मलाई दबाब बढ्छ, जसकारण पुनः समस्या देखापर्छ, त्यसैले तत्काल यसलाई अघि नबढाऊ’ भन्ने जवाफ दिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार संघीय संसदीय निर्वाचनको सम्मुखमा मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको आन्तरिक राजनीति पेचिलो बन्ने र त्यसका असर निर्वाचनमा पर्ने देउवाले विश्लेषण सुनाउनुभएको छ । एकीकृत समाजवादी र जसपामा भने सोही विषयमा आन्तरिक विवाद चर्किएको छ । आफूलाई हटाउने पार्टीको निर्णयविरुद्ध स्वास्थ्यमन्त्री विरोध खतिवडा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सार्वजनिक रूपमा आक्रोश पोख्नुभएको छ ।

सम्मानित नेता झलनाथ खनालले पार्टीको निर्णय प्रधानमन्त्री देउवाले मान्नुपर्ने भन्दै बचाउ गर्नुभएको छ । शीर्ष नेताहरू मन्त्रिपरिषद् पुनर्गठनका पक्षमा उभिए पनि सो पार्टीका बहालवाला मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई भेटेर सो निर्णय कार्यान्वयन नगर्न दबाब बढाउँदै आएका छन् । जसमा देउवा सकारात्मक रहेको मन्त्री आले निकट स्रोतले बतायो ।उता, ६–६ महिनामा मन्त्रिपरिषद् पुनर्गठनमा सिफारिस गर्ने पार्टीको निर्णयलाई कार्यान्वयन गर्न अध्यक्ष उपेन्द्र यादवमाथि जसपा नेपालका नेताहरूले दबाब बढाउँदै लगेका छन् ।

‘६ महिनापछि नयाँ अनुहारलाई देउवा सरकारमा लैजाने सहमति भएको थियो, तर अध्यक्ष यादव त्यसका लागि तयार हुनुभएको छैन्, यस घटनाले उहाँ पार्टी निर्णय मान्न हुन्न कि भन्ने सन्देश गएको छ,’ सो पार्टीका नेता मोहम्मद इस्तियाक राईले भन्दै आउनुभएको छ । सरकारका प्रमुख सहयोगी दल नै मन्त्रिपरिषद् पुर्नगठन गर्नुपर्ने भन्दै दबाब बढाइरहेको बेला प्रधानमन्त्री देउवा भने बजेटमाथि मन्त्रीको जवाफ दिएर सारिरहेका छन् । तर, मन्त्रिपरिषद् पुनर्गठन गर्न स्वयं प्रधानमन्त्री अनिच्छुक रहेपछि सहयोगी दलका दिएका दबाबका कारण एउटा निर्णयमा पुग्नुपर्ने भने देखिन्छ ।