जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार २०:२५

कांग्रेसमा समाहित भए धनगढीका मेयर गोपाल हमाल, स्वतन्त्र हैसियतमा लाग्यो पूर्णबिराम


कैलाली, जेठ ३० । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो स्वतन्त्र हैसियतमा पूर्णबिराम लगाउनु भएको । स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्नुभएका हमालले कैलाली जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनका प्यानललाई मतदान गरी आफू स्वतन्त्र नरहेको प्रमाणित गर्नुभएको हो ।

जिसस गठनका लागि आज भएको निर्वाचनमा हमालले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गरेपछि सत्ता साझेदार दलका प्रत्यासी विजयी भएका छन । हमालकै मतले जिल्ला समन्वय समितिको प्रमुखमा सत्तासाझेदार दल नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका इन्द्र चौधरीले १२ मत पाउनुभयो ।  जिससको उपप्रमुखमा पनि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का खगराज भुसालले १३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का राजेन्द्र खनालले १२ मत पाउनुभयो ।

जिल्लामा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले जिल्ला समन्वय समितिमा तालमेल गरेका थिए । नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेबीच तालमेल भएको थियो । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा विजयी नेकपा (माओवादी केन्द्र) का देवीदत्त उपाध्याय भ्रष्टाचारको अभियोगमा अदालतमा मुद्दा विचाराधीन रहेका कारण उहाँले चुनावी प्रक्रियामा भाग लिन पाउनु भएन । कैलालीमा हमाल निर्णायक हुनुहुन्थ्यो ।

स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिका प्रमुखमा विजयी गोपाल हमालले सत्ता साझेदार दलका सवै उम्मेदवारलाई भोट हाल्नुभएको हो । जिल्ला समन्वय समितिको गठनमा पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता रहने कानूनी व्यवस्था छ । कैलाली जिल्लामा १३ पालिका रहेका छन ।

यो घटनासँगै हमाल चुनाव जित्नका लागि मात्रै कांग्रेस छाडेर बिवेकशील हुँदै पुनः स्वतन्त्रको छद्म भेषमा उम्मेदवार बन्नुभएको प्रष्ट भएको छ । चुनावलगत्तै नेपाली कांग्रेसका मेयरका प्रत्यासीले चुनावमा कांग्रेसले हमाललाई सघाएको र आफू चाँहि स्वतन्त्र जस्तो बन्नु परेको बताउनु भएको थियो । हमालले आजबाट आफ्नो स्वतन्त्र हैसियत गुमाउनु भएको हो ।