जनता टाइम्स

३१ जेष्ठ २०७९, मंगलवार २१:२७

बिमला वली प्रहरी नियन्त्रणमै, बुटवल पठाउनु भन्ने मुख्यमन्त्रीको निर्देशन दाङ प्रहरीद्वारा अस्वीकार


दाङ, बेजेठ ३१ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बुटवल पठाउन प्रहरीले अस्वीकार गरेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले रिहा गरी बुटवल पठाउन निर्देशन दिए पनि दाङ प्रहरीले अस्वीकार गरी जिल्ला प्रशासन कार्यालयमा राखेर बयान लिएको छ ।

स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले बयान लिइरहनु भएको छ । वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, वलीले बयानको क्रममा वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गर्नुभएको छ । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको वलीले प्रहरीसामू बताउनु भएको छ ।

बस्नेतको घरमा भने उहाँले मेरो पोइ खोई भन्दै उहाँकी पत्नी र छोरीलाई कुटपिट गरेको घटना बाहिर आइसकेको छ । राज्यमन्त्री विमलाले आज बिहान एकराजको घरमा गएर उहाँको श्रीमती र छोरीलाई हातपात गर्नुभएको हो । वलीबिरुद्ध एकराजकी पत्नी मिना भण्डारीले वलीविरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दर्ता गरिसक्नु भएको छ ।