जनता टाइम्स

१ असार २०७९, बुधबार १५:१७

एमाले महासचिवको सरकारलाई प्रश्न : मन्त्री नै सर्वसाधारणको घरमा गएर कुटपिट गर्दा किन मौन ?


रुपन्देही, १ असार । नेकपा एमालेका महासचिव तथा लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेलले मन्त्री आफ्ना सुरक्षाकर्मीको साथमा सर्वसाधारण व्यक्तिको घरमा पुगेर कुटपिट, तोडफोड र अभद्र व्यवहारमा संलग्न हुँदा पनि सरकार मौन बसेको आरोप लगाउनुभएको छ । उहाँले दुई दिनसम्म सरकारको आधिकारिक धारणा नआउनु गम्भीर विषय भएको बताउनुभयो ।

आज बुटवलमा पत्रकारहरूसँगको भेटमा पोखरेलले कानुन कार्यान्वयन गर्ने निकायमा रहेको व्यक्तिका यस्ता गलत क्रियाकलापका विषयमा मौन रहनु आश्चर्यको विषय भएको बताउनुभयो । ‘मौन बस्नु नै यस्ता गलत कामलाई ढाकछोप गर्ने रणनीति बनाउनका लागि हो, यो सामान्य विषय होइन, आम नागरिकले सबै बुझिसक्दा पनि सरकारले लुकाउन खोज्नु आफैंमा रहस्यमय छ’, पोखरेलले भन्नुभयो ।

पोखरेलले सरकारमा संलग्न व्यक्तिहरूकै योजनामा गलत गर्ने व्यक्तिको संरक्षण गर्न खोजिएको बताउनुभयो । एमाले लुम्बिनीले मंगलबार नै महिला र बालिकामाथि हातपात गर्ने स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई बर्खास्त गर्न माग गरेको थियो ।

संसदीय दलका उपनेता बैजनाथ चौधरीले प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई नैतिकताको आधारमा मंगलबारकै मितिदेखि वलीलाई बर्खास्त गर्न आग्रह गर्नुभएको थियो । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा संचारमन्त्री तिलकराम शर्माले यो उहाँहरूको व्यक्तिगत विषय भएको प्रतिक्रिया दिनुभएको छ ।