काठमाडौँ, असार १ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बेहोस बनाएर बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले जानकारी दिनुभयो ।सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजक पाण्डेले होटलमा बोलाएर नशालु पदार्थ खुवाई बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेकी थिइन् ।
त्यसपछि अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।घटना सार्वजनिक भएपछि पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले अनुसन्धान सकेर मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । त्यसमाथि निर्णय गर्दै मानव बेचबिखन तथा ओसारपोसारमा अधिकतम १५ वर्षसम्म र बाल यौन शोषणमा तीन वर्षसम्म कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख, सहन्यायाधिवक्ता पौडेलले बताउनुभयो । हाल २४ वर्षीय ती युवतीले आफू १६ वर्षकी हुँदा सुरुमा पाण्डेले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी निरन्तर शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । बलात्कार मुद्दामा घटना भएको मितिको एक वर्षभित्रैमा मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने हदम्याद भएका कारण उक्त घटनामा पाण्डेलाई बलात्कारमा अभियोजन नगरिएको हो । पाण्डेले होटल पुर्याएर बेहोस बनाई यौन शोषण गरेको र त्यसबापत पैसा दिएको कार्य मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणसम्बन्धी कानुनअनुसार बेचबिखनअन्तर्गत पर्ने भन्दै उनलाई त्यसमै अभियोजन गरिएको हो ।
बाल यौन शोषणको अर्को घटना भने एक वर्षभित्रैको भएकाले उनलाई त्यसमै अभियोजन गरिएको हो ।गत जेठ ७ गते पक्राउ परेका पाण्डेलाई त्यसयता अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो । बुधबार उनीविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले बिहीबार पाण्डेलाई काठमाडौं जिल्ला अदालतमा पेश गर्नेछ । गोला प्रक्रियाद्वारा पाण्डेको मुद्दा सुनुवाइ हुने इजलास टुंगो लागेपछि उनको बयान हुने छ । बयान सकिएमा बिहीबार नै पुर्पक्षसम्बन्धी सुनुवाइ हुने छस त्यसपछि थुनछेक आदेश हुनेछ ।थुनछेक आदेशमा न्यायाधीशले पाण्डेलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामै राख्ने वा धरौटी वा तारेखमा छाड्नेमध्ये कुनै एक आदेश गर्ने छन् । बिहीबार बयान र पुर्पक्षसम्बन्धी बहस नसकिएमा यस्तो आदेश शुक्रबार हुने छ ।













प्रतिक्रिया दिनुहोस्