जनता टाइम्स

१ असार २०७९, बुधबार २२:५१

४० कलाकार जसले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न पाउनेछन् (सूचिसहित)


काठमाडौं, १ असार । चलचित्रकर्मीहरूले अब विमानस्थलमा भीआईपी अति विशिष्ट/विशिष्ट कक्ष प्रयोग गर्न पाउने भएका छन् । विशिष्ट श्रेणीका चलचित्रकर्मीहरूले विमानस्थलको भीआईपी सुविधा लिन पाउने भएका हुन् ।चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भीआईपी कक्ष प्रयोग गर्न पाउनेछन् । चलचित्र विकास बोर्डका अनुसार विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र पाउने कलाकारको संख्या ४० छ ।बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइनेछ ।विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा हरिवंश आचार्यदेखि राजेश हमालसम्म छन् ।

यस्तै, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बास्कोटालगायत छन् ।बोर्डको पत्राचारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।०७३ सालमा बोर्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो । प्राप्त आवेदनमध्ये उनीहरूले पुर्‍याएको योगदान र तय गरिएको मापदण्डका आधारमा ४० जनालाई विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र वितरण गरिएको थियो । यो परिचयपत्र बोर्डले ०७३ वैशाख १३ र असार १६ गते वितरण गरेको थियो । ४० मध्ये चारजनाको निधन भइसकेको छ ।

“केही थप कलाकारलाई यो परिचयपत्र वितरण गर्दै छौँ,” बोर्डका एक अधिकारीले भने, “थप कलाकारका लागि मापदण्ड जारी गर्दै पुनः निवेदनका लागि आग्रह गर्नेछौँ ।”