जनता टाइम्स

२ असार २०७९, बिहीबार १८:३५

व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा बजेट बनाए – अध्यक्ष ओली


काठमाडौं, २ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा आायेजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनाधिकृत व्यक्तिहरु राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो । उहाँले संसारका कुनै राज्य प्रणालीमा बजेट बनाउनुपूर्व व्यापारीका प्रतिनिधि राखेर बनाउने प्रचलन नरहे पनि नेपालमा कमिसन खाएर बजेट निर्माण गर्ने प्रणालीको खिल्ली उडाएको बताउनु भयो । अध्यक्ष ओलीले बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्ने भएपनि अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिएको बताउनु भयो ।उहाँले यापारीसँग सेटिङ मिलाएर करका दर तोकिएको भन्दै बजेट बनाउँदा नै व्यापारिहरु बोलाएर बनाएकोप्रति आपत्ति जनाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन, बाहिरका अनाधिकृत मान्छेहरु राखेर बजेट बनाइन्छ । दुनियाँमा कतै कल्पना गरिँदैन । बजेट अर्थमन्त्री, अर्थसचिव, राजश्वसचिव, आदिले तयार गर्छन् । त्यस ठाउँमा त्यस्ता मान्छेहरु बाहेक अरु नै प्रकारका मान्छेहरु अनाधिकृत मान्छे ल्याएर करका दर सेटिङमा तोकिन्छ । व्यापारीसँग सेटिङ मिलाएर करका दर तोकिन्छ । कमिसन खाएर करका दर तोकिन्छ । यस्तो त कुनै राज्यप्रणालीमा हुँदैन । कल्पना गर्नै सकिँदैन, यो त पञ्चायत कालमा पनि हुँदैन थियो । कहिल्यै हुँदैन, जहाँ बजेट पेस गरिन्छ । र एउटा चलन हुन्छ । बजेट प्रश्तुत गर्नुभन्दाअघि प्रधानमन्त्रीले क्याबिनेटको बैठक राख्छ ।

त्यहाँ बजेटको ब्रिफिङ गरिन्छ । करका दरहरु होइन । ब्रिफिङ गरिन्छ । करका दरहरु मोटामोटी इण्डिकेशन मात्र गरिन्छ । त्यसलाई पास भएको मानिन्छ । र एकजना मन्त्री पनि त्यहाँ गोपनीयता खुल्ला भनेर त्यहाँ क्याबिनेट बैठकबाट संसदमा जाँदा सम्पूर्ण मन्त्रीहरु, प्रधानमन्त्री अघिअघि हुन्छ, त्यही ब्रिफकेसलाई बाँधेको हुन्छ । रातो रिबनले कि यो गोप्य छ । यो कतै खुलेको छैन । यो अब सोझै गएर कतै जाँदैन, पाल्र्यामेण्टमा सम्मानित सदनमामात्रै यो खोलिन्छ भनेर त्यसलाई रिबनले बाँधेर गोप्य ढंगले, गोप्य बनाएर बजेट अर्थमन्त्रीले प्रश्तुत गर्नुहुन्छ । रोस्टममा गएर मात्रै खोलिन्छ । तर यहाँ त बनाउँदै गर्दा नै व्यापारिका प्रतिनिधि राखेर बजेट बनाइन्छ । बनाउनुभन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ । के हालत भयो यो देशको ? यस्तो अवस्थामा तपाईहरुले चुनावको सामना गर्नुभएको छ । त्यो चुनाव जित्नु चानचुने कुरा होइन ।’अध्यक्ष ओलीले पार्टीका नेता घनश्याम भुसालप्रति लक्षित गर्दै कतिपय व्यक्तिहरु पार्टीले दिएको ओहोदा, सुविधाहरु उपभोग गरेर पार्टीको कसरी अपमान, बेइज्ज्त गरिरहेको बताउनु भयो । केही समयअघि उपाध्यक्ष भुसालले नेकपा एमाले पराजित हुनुको कारण पार्टी अध्यक्ष ओलीको कमजोरी र घमण्ड भएको प्रतिक्रिया दिनुभएको थियो । त्यसको प्रत्युत्तरमा अध्यक्ष ओलीले पार्टीले दिएको हैसियतमा पार्टीको बिरोध र पार्टी नेतृत्वलाई बदनाम गर्न तथा बिस्थापित र धाँदली गर्न लागिपरेको बताउनु भयो । अध्यक्ष ओलीले पार्टीमा गरेको गद्धारीको हिसावकिताव समयक्रममा हुने चेतावनी दिनुभयो ।उहाँले भन्नुभयो, ‘अहिले पनि देखिरहनुभएको छ, कतिपय व्यक्तिहरु पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा, सुविधाहरु उपभोग गरिरहेका छन् । त्यो हैसियत प्रयोग गरिरहेका छन् । पार्टीको कसरी अपमान, बेइज्ज्त, कसरी बिरोध हुन्छ ? त्यही काम पनि गरिरहेका छन् । पार्टी नेतृत्वलाई कसरी बदनाम गर्न सकिन्छ, बिस्थापित गर्न सकिन्छ, धाँदलीकरण गर्न सकिन्छ, कसरी अलोकप्रिय बनाउन सकिन्छ, ती कामहरु पार्टीभित्र बसेर गरिरहेका छन् । यसको समयक्रममा समयले त्यसको हिसावकिताव गर्नेछ । त्यसमा धेरै चिन्ता नगरौँ ।’

अध्यक्ष ओलीले एमसीसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर वाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको भन्दै नेकपा एमालेले त्यस्ता गतिविधि बिरुद्धमा अगुवाई गरिरहेको बताउनु भयो । उहाँले देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधि सभाको चुनावको तयारीमा लाग्नपनि निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले तपाईहरु सुनिरहनुभएको छ, यही मौका छोपेर वाह्य सेना उपस्थित गराउने खालका आदि इत्यादि गर्न खोजिएको छ । त्यसको सम्बन्धमा पार्टीले बोलिरहेको छ । हाम्रा सांसदहरु संसदमा बोलिरहनुभएको छ । जनतमा यसखालको जागरण आइरहेको छ । हाम्रो पार्टीले त्यसको बिरुद्धमा अगुवाई गरिरहेको छ । देशहीतबिरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा हामी सजग छौँ । अब आउँदो निर्वाचन महासंग्रामको रुपमा हाम्रो अघि उपस्थित हुँदैछ ।

त्यसको तयारीमा हामी जानेछौँ ।’अध्यक्ष ओलीले नेकपा एमालेलाई हराउन बिरोधी नसक्ने दाबी गर्दै आफ्नै पार्टीबाट चुनावमा हराउन सकुनी, मिर जाफर र मिर काशिमहरु निस्किएको बताउनु भयो । उहाँले जनताले स्थानीय तहमा पार्टीले गरेका कामहरुलाई हेरेर मतदान गर्ने भन्दै स्थानीय जनप्रतिनिधिहरुले उदाहरणीय काम गरेर देखाउन निर्देशन दिनुभयो । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा एमाले आफ्नै कमजोरीका कारण हारेको बताउनु भयो । उहाँले कमजोरी सच्याएर अघि बढेको भए पार्टीले थप ८८ सिट जित्ने उल्लेख गर्दै नेकपा एमाले नै पहिलो पार्टी बन्नेमा द्विमत नरहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले जनमतका हिसावमा अझै एमाले पहिलो पार्टी भएको दाबी गर्दै बुथ कब्जा, उम्मेदवारहरु गिरफ्तार, राज्य शक्तिको दुरुपयोग, पैसाको चलखेल नभएको भए एमाले नै पहिलो पार्टी बन्ने बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनमा नाङ्गो धाँदली भएको भन्दै गठबन्धनले चुनावमा राज्य शक्तिको दुरुपयोग, अनैतिकता, भ्रष्टता र अलोकतान्त्रिक तमासा देखाएको बताउनु भयो । उहाँले अब आउने निर्वाचनपनि एमालेको पक्षमा जान्छ भनेर गठबन्धनले विभिन्न योजना बनाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा आफ्नै कारणले चुनाव हारेका छौँ । त्यतिमात्रै नभएर सच्चिने हो भने कमसेकम ८८ ठाउँमा जित्ने थियौँ । ८८ सिट जित्दा २९३ सिटमा कम सेकम पुग्ने थियौँ । काँग्रेस २६९ तिर झर्दथ्यो । माओवादी ९९ मा झर्दथ्यो । वा जित्यौँ भनेर नगरा जति पिटेपनि ड्रम जति ठटाएपनि जे गरेपनि नेकपा एमालेको स्थिति पपुलर भोटमा अहिलेपनि सबै पार्टी भन्दा माथि एमाले छ । त्यसैले हाम्रो स्थिति कमजोर छैन, यत्रो बुथ कब्जा गर्दा, यत्रा मान्छे घाईते बनाइँदा, यत्रा मान्छे कुटिँदा, हाम्रा उम्मेदवारहरु गिरफ्तार गरेर थुनामा राखेको छ । कति ठाउँमा राख्ने, कति ठाउँमा लड्ने, एक ठाउँको रिपोर्ट आउँछ, फोन उठाएर यस्तो किन गरेको भन्न पाएको छैन, अर्को ठाउँमा फोन आइरहेको छ ।

यस्तो खालको ज्यादतीपूर्ण ढंगले, जसले जहाँ छ, त्यहीँबाट ज्यादती गरेको छ । अत्यन्तै नाङ्गो धाँदली हो । मैले २०१५ सालको चुनाव हेरेको छु मैले । त्यहाँदेखि अहिलेसम्म कम सेकम ६४ वर्ष भयो । ६४ वर्षदेखि इलेक्शन हेरिरहेको छु । तर यस्तो इलेक्शन, राज्य शक्तिको यस्तो दुरुपयोग, यति अनैतिकता, यति भ्रष्टता, यति अलोकतान्त्रिक, यस्तो तमासा मैले कुनै चुनावमा कहिल्यै देखिन । पञ्चायतमा जनपक्षीय लडाएर हेर्दापनि यो हद भएन । पैसा, प्रशासन, प्रहरी कहीँ केही भएको छैन,यसै प्रहरीले छोडेर हिँडेको छ । एमालेले निीश्चत जित्यो भनेपछि छोडेर हिँडेको छ । कुनै प्रकारको अशान्ति छैन, त्यहाँ मत काउन्टिङ नगर्ने, फेरि चुनाव गर्ने, एउटा बुथमा समस्या भएपछि सिङ्गा निर्वाचन कन्द्रमा मतदान गर्नुपर्ने, त्यहाँ कुनै समस्यै छैन ।

किनभने २०५ त अब घटाउन सक्दैन । तर २०६ पनि एमालेलाई हुन नदिने, यो षड्यन्त्र भयो । अहिले एउटा सिटका लागि सम्पूर्ण राज्य संयन्त्रको दुरुपयोग गरेर नेकपा एमालेको हातबाट खोसिएको छ । निर्वाचन एमालेको पक्षमा जान्छ भन्ने लागेर यो सबै गरिरहेका छन् । एमालेको पक्षमा जान नदिन, त्यहाँ मान्छे मारेर, अपहरण गरेर जे गरेर भएपनि जित्ने, पैसा, प्रशासन सबैको दुरुपयोग गरेर जित्ने, साथीहरुको योजना छ । साथीहरुको भन्नाले अहिलेको गठबन्धनलाई सभ्य भाषामा साथीहरु भनेको हो । धाँदलीबाजहरु । लोकतन्त्रबिरोधी तत्वहरु । हामीलाई हराउन हाम्रा बिरोधीले सक्दैनन्, हामी आफ्नै भित्रबाट भएको छ । हाम्रा बिरोधीले केही गर्न सक्दैन थिए । झन्डै दुई तिहाईमा थियौँ । हाम्रैभित्रबाट सकुनीहरु निस्किए । घासीमरु निस्किए । मिर जाफरहरु निस्किए । मिर काशिमहरु निस्किए । बंगालको सेनापति थियो, मिर्जाफर तर अंग्रेजसँग मिलेर गयो । त्यसपछि उसलाई अपदस्थ गरेर मिरकासीम उसकै ज्वाईंलाई सेनापति बनाइयो । हाम्रो आपसी, पार्टीप्रतिको निष्ठा, जनप्रतिनिधि साथीहरुलाई भन्न चाहन्छु, तपाईहरु पार्टीको कार्यकर्ता हो । पार्टीले पठाएको, उम्मेदवार बनाएको हो, तपाईहरुको कामअनुसार जनताले पार्टी हेर्नेछन् ।’

अध्यक्ष ओलीले नाम हाईहाई हुने गरी र आलोचना सुन्ने नगरी काम गर्नपनि स्थानीय जन प्रतिनिधिहरुलाई निर्देशन दिनुभयो । उहाँले ५ दलीय गठबन्धन र एमालेमा कुमति र सुमतिको फरक रहेको भन्दै गठबन्धनलाई कुमतिको संज्ञा दिनुभयो । अध्यक्ष ओलीले जनताको स्थानीय तह सदस्य निर्वाचनमा कुप्रचार, षड्यन्त्र, जालझेल, अपहरण, हत्या, कुटपिट, बुथ कब्जा गर्ने जस्ता अपराधिक क्रियाकलापहरु राज्यको योजनामा, राज्यशक्तिको कुपरिचालन गरेर र राज्यशक्तिको दुरुपयोग गरेर भएको बताउनु भयो । उहाँले निर्वाचनमा पैसाको व्यापक वितरण भएको भन्दै नेकपा एमालेले अधिनायकवादी, तानाशाही, दमनकारी शासनको बिरुद्ध लड्नुपरेको बताउनु भयो ।