जनता टाइम्स

२ असार २०७९, बिहीबार २२:२६

चुरे संरक्षणबाट वातावरण जोगिन्छ, स्थानीय जनताको जीवनस्तर फेरिन्छ : राष्ट्रपति भण्डारी


काठमाडौं, २ असार ।राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे संरक्षणबाट वातावरण जोगाउनुको साथै स्थानीय जनताको जीवनस्तर परिवर्तन हुने बताउनुभएको छ । चुरे दिवसको अवसरमा सिन्धुलीको दुधौली नगरपालिका ३ झुँगामा आज बिहीवार वृक्षरोपणपछि भएको कार्यक्रममा उहाँले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले जङ्गली वन्यजन्तुको वासस्थान, जडीबुटी तथा वनस्पतिको खानी र तराई–मधेस क्षेत्रमा सिँचाइका लागि आवश्यक पर्ने पानीको मुख्य स्रोत चुरे नै भएको बताउनुभयो ।

तराई–मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउन पनि चुरेको संरक्षण अपरिहार्य भएको उहाँको भनाइ छ । चुरे क्षेत्रमा रहेका पालिकामा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न भण्डारीले आह्वान गर्नुभयो ।