जनता टाइम्स

३ असार २०७९, शुक्रबार १४:०३

अर्थमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभामा पनि एमालेको अवरोध


काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठक अवरोध गरेको छ । बैठकमा आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित भएको ‘विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध जनाउनुभयो ।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले दिएको समयमा बोल्दै एमाले सांसद खिमलाल भट्टराईले अर्थमन्त्रीले करको दायरा निर्धारण गर्दा विचौलियाको प्रभावमा परेर करमा हेरफेर गरिएको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउनुभयो ।

त्यसबाहेक प्रतिनिधिसभामा सो विषयमा एमालेद्वारा छानबिनका लागि संसदीय समितिको माग गरिएको कुरालाई नजरअन्दाज गरिएको भन्दै राष्ट्रिय सभामा अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताउनुभएको थियो । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको थियो ।