जनता टाइम्स

३ असार २०७९, शुक्रबार १४:४६

मानवीय सहायताको लागि चिठी लेखेको हो, सैन्य गठबन्धनका लागि होइन : प्रधानसेनापति शर्मा


काठमाडौं, ३ असार । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई सैन्य गठबन्धनका लागि नभई मानवीय सहायताको लागि चिठी लेखेको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहानको बैठकमा प्रधानसेनापति शर्माले यस्तो बताउनुभएको हो । उहाँले २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको बताउनुभयो ।

सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको भन्दै बिहीबार पत्र सार्वजनिक भएको थियो । तर एसपीपीमा भाग सहभागी हुन कुनै सम्झौता नगरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अहिले बजारमा मिडिया र सामाजिक सञ्जालमा नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको सत्य हो । २०७२ को भूकम्पको बेला २७ देशलाई मानवीय सहायता लिएर देशको जनतालाई सहयोग गर्न चिठी लेखेको हो । तर चिठीमा सैन्य अलायन्स लेखिएको छैन । म आफै सैन्य गठबन्धनको खिलाफ छु ।’

उहाँले चिठी लेख्दैमा कुनै सैन्य गठबन्धन नहुने दावी गर्नुभयो । उहाँले एसपीपी नेपाललाई जरूरी नभएकाले अमेरिकालाई सैन्य गठबन्धन हुँदैन भनेर भनिसकेको पनि जानकारी दिनुभयो । उक्त पत्रको विषयमा कसैलाई दोष दिन नचाहेको समेत सुनाउनुभयो ।