जनता टाइम्स

४ असार २०७९, शनिबार २१:४४

तुलसीपुरमा बाटो खन्दा भेटियो दुई सय वर्ष पुराना एक कसौडी चाँदीका सिक्का : भागबन्डा नमिल्दा बाहिरियो कुरा


शनिबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा फरक दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं.४ रक्षाचौर सिमराटोलका स्थानीय सबै कार्यालय पुगेका थिए। उनीहरू कुनै झगडा हेर्न त्यहाँ पुगेका थिएनन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्रयाक खोल्ने काम भइरहेको थियो। चार दिन अगाडि नयाँ बाटो खन्ने क्रममा जेसिबी अपरेटरले एउटा कसौडीमा केही ‘धन’ फेला पारेका थिए। त्यो धन उनैले लगे।

प्रहरीले त्यसबारे जानकारी पाएपछि शनिबार खोजेर कार्यालयमा ल्यायो। त्यो धन पुराना चाँदीका सिक्काहरू हुन्। सिक्काहरू फेला परेपछि उनीहरू खुसीयाली त्यहाँ पुगेका हुन्। त्यो दुई सय वर्ष पुराना चाँदीका सिक्काहरू भएको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक बखतबहादुर शाहीले पाँच सय ३७ थान सिक्काहरू एउटा कसौडीमा राखिएको अवस्थामा फेला परेको बताउनुभयो। केही सिक्काहरू १८०६ साल सम्मका रहेका छन्। रा १ क १००२५ नम्बरको जेसिबीका अपरेटर तुलसीपुर१५ मलवारका २५ वर्षीय सुवासचन्द्र चौधरीले बुधबार दिउँसो नयाँ ट्र्याक खन्ने क्रममा सो सिक्का फेला पारेका थिए।उनले फेला पारेका सिक्काहरूमध्ये ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्।

चार सय ६१ वटा सिक्कामा श्री ३ लेखिएको छ। उनले ती सिक्काहरू आफ्नो घरमा लिएर गएका थिए। प्रहरी निरीक्षक शाहीका अनुसार चौधरीले घरमा लगेर कसौडीबाट झिकेर अर्को प्लास्टिकको झोलामा राखेका थिए। अहिले उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।