काठमाडौं, असार ५ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको छ ।आज आइतवार समाजवादी प्रेस सङ्गठन नेपालले काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले पालिकामा आशा गरेअनुसारको परिणाम गठबन्धनबाट नआएकोले गठबन्धनको गीत नगाउन पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘गठबन्धनलाई जोगाउँदै अघि बढ्नुपर्नेछ । अब चुनावको तयारीमा जुट्नुपर्छ । ६ महिनाभित्र नै सम्भवतः चुनाव हुनेछ । पालिका चुनावमा हामी गठबन्धनतर्फ बढी आशावादी भयौँ तर सोचेजस्तो परिणाम आएन । गठबन्धनको गीत गाउन बन्द गर्नुहोस् । आफ्नो शक्तिप्रति गर्ने कुरामा जोड लगाउनुस् । सङ्गठन विस्तार गर्ने कुरामा लागिपर्नुस् ।’
अध्यक्ष नेपालले पालिका चुनावमा गठबन्धन पेचिलो हुने अनुभव बटुलेको भन्दै प्रदेश र प्रतिनिधि सभाको चुनावमा सिट बाँडफाँटमा कठिनाइ नहुने बताउनुभयो । उहाँले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा सहमति गरेर र सहमति नजुटेको ठाउँमा एक्ला–एक्लै चुनाव लड्ने बताउनुभयो । आउँदो चुनावसम्म गठबन्धन कायमै रहने र त्यसपछि पनि गठबन्धनलाई अघि लैजाने विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।
अध्यक्ष नेपालले माओवादी र प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा केही दिनका लागि मात्रै मन्त्री परिवर्तनको प्रक्रिया रोकिएको स्पष्ट पार्नुभयो । उहाँले आफ्नो पार्टीले मन्त्री परिवर्तन गर्न नाम पठाएपछि माओवादीमा पनि कुरा चलेकोले केही दिनका लागि प्रक्रिया रोकेको तर अब छिटै नै परिवर्तन हुने धारणा राख्नुभयो । पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभएका प्रेम आलेले बोलेको शब्दहरुप्रति लक्षित गर्दै आगामी दिनमा विचार पु¥याएर मात्रै बोल्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी र प्रधानमन्त्रीले केही दिन पर्खिन भनेका कारण मन्त्री परिवर्तनमा ढिलाई भइरहेको छ । छिटै अब मन्त्रीहरुको परिवर्तन गर्ने कुरामा प्रधानमन्त्रीले जवाफ दिनुभएको छ ।
पर्यटन मन्त्रीको बारेमा सोध्नुभयो । मान्छेको बारेमा सोध्दा जवाफ दिन धेरै गाह्रो हुन्छ, म यत्तिमात्रै भन्न चाहन्छु, कि कुनैपनि कुरा बोल्दा विचार पु¥याएर मात्रै बोल्नुपर्छ ।’ अध्यक्ष नेपालले अहिले देश ठिकठाक नरहेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा मतपत्र कस्तो बनाउनु पर्छ भन्ने बारेमा पनि छलफल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले मतपत्रको बारेमा नागरिकलाई बुझाउन नसक्दा, काठमाडौं लगायतका केही पालिकाहरुमा उपमेयरमा चुनाव हार्न पुगेको बताउनु भयो । उहाँले स्थानीय तहको निर्वाचनबाट गठबन्धन गर्दा कहीँ न कहीँ त्रुटी भएको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्