जनता टाइम्स

६ असार २०७९, सोमबार १७:०८

सिक्किममा ‘हेल्लो जिन्दगी’ लाई क्रिटिक्स च्वाइस अवार्ड


काठमाडौं, ६ असार । एभरेष्ट सूर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अवार्ड जितेको छ । १६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित थुप्रै देशका फिल्म प्रतिस्पर्धामा थिए । जसमध्ये ‘हेल्लो जिन्दगी’ ले न्यारेटिभ फिचर फिल्म विधाअन्तर्गत अवार्ड जितेको हो ।

निर्देशक सूर्य बोहोराले रोयल सोसाइटी अफ टेलिभिजन एन्ड मोसन पिक्चर्सको आयोजनामा सन् २०२१ देखि मासिक रुपमा हुँदै आइरहेको फेस्टिवलमा आफ्नो फिल्मले अवार्ड जित्दा खुसी लागेको बताउनुभयो । युके निवासी अभिनेता तथा निर्माता विक्रम डी जोशीले आफ्नो मेहनत, सोच र प्रस्तुतिले पुरस्कार पाउँदा हर्षित भएको जनाउँदै आगामी दिनमा अझ सुन्दर फिल्ममा अभिनय तथा निर्माण गर्न प्रोत्साहन मिलेको बताउनुभयो ।

गत वर्षको १८ चैतमा प्रदर्शन भएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रान्त बस्नेत, विल्सनविक्रम राई, सविता गुरुङ तथा निर्देशक बोहरा स्वयं प्रमुख भूमिकामा छन् । युके तथा नेपालमा खिचिएको फिल्मको निर्माता विक्रम डि जोशी र हिराल जोशी हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन तथा सहनिर्मात्रीमा सबिता गुरुङ छिन् ।

निर्देशक बोहराकै कथा, पटकथा रहेको फिल्ममा सस्पेन्स प्रेमकथा प्रस्तुत गरिएको छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म स्वदेशपछि अब विदेशमा प्रदर्शनको तयारीमा छ ।