जनता टाइम्स

६ असार २०७९, सोमबार १७:४६

पत्रकार महासंघको अध्यक्ष नै पार्टीको कार्यक्रममा सक्रिय


पोखरा, असार ६ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी महासंघको आचारसंहिताबिपरित पार्टीको कार्यक्रममा अतिथि बनेर सहभागी हुनुभएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा महासंघ अध्यक्ष भण्डारी सहभागी हुनुभएको हो । नेपाल तरुण दल कास्कीले आज पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रममा भण्डारी मञ्चमै आसनग्रहण गरेर बस्नुभएको हो ।

सो कार्यक्रममा नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन साहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको तर सधै एउटै नहुने बताउनु भयो । ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन, म ओपन्ली त भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’ उहाँले भन्नुभयो ।
विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उहाँले मजाक पनि गर्नुभयो । ‘हुन त राम्रो हो । रमाइलै हुन्छ । विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा । तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ,’ आरजुको भनाई थियो । कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको बताउनु भयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, संचारमन्त्री बिन्दुकुमार थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषि काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ लगायतले आफ्नो सुझाव राख्नुभएको थियो । सो अवसरमा कास्कीबाट गत ३० वैशाखको चुनावमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।