जनता टाइम्स

६ असार २०७९, सोमबार १८:०९

बलात्कार आरोपी मनोज पाण्डे जेल चलान


काठमाडौं, असार ६ । मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले आज पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक युवतीले पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

घटना सार्वजनिक भएलगत्तै अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । पाण्डेविरुद्ध कार्यालयमा दुईवटा जाहेरी परेको थियो । कार्यालयले अनुसन्धानपश्चात गत जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा उक्त घटनाबारे छानबिन गर्न समितिसमेत गठन गरेको थियो ।
हाल २४ वर्षीया ती युवतीले आफू १६ वर्षकी हुँदा सुरुमा पाण्डेले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी निरन्तर शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

बलात्कार मुद्दामा घटना भएको मितिको एक वर्षभित्रैमा मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने हदम्याद भएका कारण उक्त घटनामा पाण्डेलाई बलात्कारमा अभियोजन नगरिएको हो । पाण्डेले होटल पुर्याएर बोहोस बनाई यौन शोषण गरेको र त्यसबापत पैसा दिएको कार्य मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणसम्बन्धी कानुनअनुसार बेचबिखनअन्तर्गत पर्ने भन्दै उनलाई त्यसमै अभियोजन गरिएको छ ।

बाल यौन शोषणको अर्को घटना भने एक वर्षभित्रैको भएकाले उनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियोजन गरिएको हो । गत जेठ ७ गते पक्राउ परेका पाण्डेलाई त्यसयता अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको थियो । अदालतले आज कारागार चलानको आदेश दिएसँगै सुन्दरीप्रतियोगिताको बहानामा युवतीलाई आफ्नो हवसको सिकार बनाउने पाण्डेको बास कारागारमा भएको छ ।