जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १४:०७

ओली सरकारले देखायो काममा उत्कृष्ट परिणाम : आउन थाल्यो पाइपलाइनबाट पेट्रोलियम


काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम तोकिएको समयभन्दा एक बर्ष अगावै सम्पन्न गरी दृढ इच्छाशक्ति भए समयमै काम संभव हुन्छ भन्ने गतिलो प्रमाण प्रस्तुत गरेको छ ।

सरकारको नेतृत्व लिएसँगै प्रधानमन्त्री ओली आफैले बिशेष पहलकदमी लिएर अघि बढेको पेट्रोलियम पाइपलाइनका काम सकेर आज पाइप्लाइनाटै पेट्रोलियम पदार्थ आइपुग्न लागेको हो । यो परीक्षण सफल भएसँगै अब भारतबाट पेट्रोलियम पदार्थ पाइपलाइन हुँदै नेपाल आउने छ । पाइप लाइनको परीक्षणका लागि हिजो बुधबार भारतको बिहार राज्यको राजधानी पटनाबाट डिजेल पठाइएको छ । उक्त डिजेल आज साँझसम्म अमलेखगन्जमा आइपुग्ने पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवले जानकारी दिनुभयो ।

यादवले जनताटाइम्स डटकमलाई दिनुभएको जानकारीअनुसार परीक्षणको गर्न पाइपमा पानी, तिग (पाइप सफा गर्ने) र डिजेल हालेर पठाइएको छ । ‘पाइपमा पानी, तिग र डिजेल हिजै हालिसकेको छ । उदघाटनमा मेसिन अन गरेर डिजेल निकालिन्छ’, यादवले भन्नुभयो । उहाँका अनुसार उदघाटन भइसकेपछि व्यावसायिक रूमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइने छ । नेपाल आयल निगमका प्रवक्ता बीरेन्द्र गाइतका अनुसार साउन अन्तिममा पाइपलाइनको उदघाटन गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुवैबाट उदघाटन गराउने गृहकार्यसमेत अघि बढेको छ । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्यांकी राखिएका छन । जुन ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका छन । पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमको अनुमान छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म (६९.५ किलोमिटर) नयाँ पाइपलाइन बिछ्याइएको थियो । मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ । नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.५ किलोमिटर पर्दछ । परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ । नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ ।

नेपालको ७५ करोड रुपैया अहिले खर्च भएको छैन । यो रकम ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना लगायत अन्य क्षेत्रमा खर्च गरिने आयल निगमले जनाएको छ । निगमको नयाँ नेतृत्वको प्रभावकारी काम र सरकारले कामको अनुगमनमा तीब्रता दिएसँगै तोकिएको समय भन्दा अगावै काम सम्पन्न भई अव भारतबाट पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको हो । भारतीय आयल कर्पोरेसन (आइओसी)को अनुदान सहयोगमा निर्माण भएको पाइपलाइनको सबै परीक्षण सकिएपछि बुधबारबाट डिजेल पठाउन सुरु गरिएको थियो ।

बुधबार दिउँसो २ बजे आइओसीको मोतिहारी डिपोबाट डिजेल छाडिएको निगमको भनाई छ । बुधबार छाडेको डिजेल १८ घन्टापछि आज साँझ ६ बजे नेपाल आयल निगमको बारास्थित अमलेखगन्ज डिपोमा आइपुग्ने छ ।