काठमाडौं, ८ असार । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री बिमला वलीमाथि छानबिन गर्न गठन गरेको कार्यदलले काम सुरू गरेको छ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन टोली मंगलबार बेलुकी दाङ पुगेको छ। प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद बैठकले राज्य मन्त्री वलीको घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् । लुम्बिनीकी स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री वलीले गत मंगलबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीकी मीना भण्डारी बस्नेत र उहाँकी छोरीमाथि घरभित्र पसेर कुटपिट गर्नुका साथै दराजलगायत सामान तोडफोड गर्नुभएको थियो ।त्यसपछि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको थियो। घटना भएकै राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उहाँलाई बुटवल लगिएको थियो।













प्रतिक्रिया दिनुहोस्