जनता टाइम्स

८ असार २०७९, बुधबार १०:३३

को हुन भारतीय राष्ट्रपति निर्वाचनका लागि भाजपाले तय गरेको उम्मेदवार द्रौपदी ?


नयाँ दिल्ली, असार ८ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले आगामी चुनावको लागि द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ । भाजपा अध्यक्ष जेपी नड्डाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुर्मुलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा सिफारिश गरेको बताउनु भयो । आदिवासी नेतृ द्रौपदी मुर्मु झारखण्डको पूर्वराज्यपाल हुनुहुन्छ । निर्वाचित भएमा उहाँ भारतको पहिलो आदिवासी राष्ट्रपति र देशको दोस्रो महिला राष्ट्रपति बन्नुहुनेछ ।

‘पहिलो पटक महिला आदिवासी उम्मेदवारलाई प्राथमिकता दिइएको छ । हामी आगामी राष्ट्रपति चुनावका लागि द्रौपदी मुर्मुलाई एनडीएको उम्मेदवारको रूपमा घोषणा गर्छौं’, बीजेपी प्रमुख नड्डाले भन्नुभयो ।

मुर्मुले आफ्नो जीवन समाजको सेवा गर्न र गरिब, दलित र सीमान्तकृतहरूलाई सशक्तिकरण गर्न समर्पित गरेको उहाँले बताउनु भयो । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुसँग राम्रो प्रशासनिक अनुभव भएको र उहाँ राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क भएको बताउनु भयो ।

‘ उहाँसँग राम्रो प्रशासनिक अनुभव छ । उहाँ हाम्रो देशको महान राष्ट्रपति हुनेछिन् भन्नेमा म ढुक्क छु’, प्रधानमन्त्री मोदीले भन्नुभएको छ ।
पछिल्लो २० वर्षदेखि भाजपामा आबद्ध उहाँ भाजपा महिला मोर्चाकी राष्ट्रिय उपाध्यक्षसमेत हुनुहुन्थ्यो । १८ जुलाईमा राष्ट्रपतिको निर्वाचन तय गरिएको छ ।