जनता टाइम्स

८ असार २०७९, बुधबार ११:१२

गण्डकीका जिल्ला समन्वय समितिमा एमाले बर्चस्व (सूचीसहित)


पोखरा, असार ८ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामा भएको जिल्ला समन्वय समिति गठनमा एमालेको बर्चश्व देखिएको छ । १० जिल्लामध्ये एमालेले ७ प्रमुख र ६ उपप्रमुखमा जित हासिल गर्दै पहिलो स्थान हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले १ प्रमुख र २ उपप्रमुख जित्दा १ प्रमुख र १ उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाले १ प्रमुख र एकीकृत समाजवादीले १ उपप्रमुख जितेका छन् ।

जिसस मुस्ताङ प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेकी माया गुरुङ र उपप्रमुख एमालेकै आइतलाल थकाली विजयी बन्नुभएको हो । यस्तै म्याग्दी जिससमा एमालेको एकल नेतृत्व छ । एमालेबाट प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्री चुनिनुभएको छ ।

पर्वत जिसस प्रमुखमा एमालेका उम्मेदवार र उपप्रमुखमा माओवादीका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका विष्णुराम विक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सोम जिसी विजयी हुनुभएको हो । कास्कीमा एमालेको एकल जिसस बनेको छ । प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुख एमालेकै सरीता मालसहितको प्यानल विजयी भएको छ । जिसस लमजुङमा पनि एमालेको प्यानल विजयी भएको छ ।

प्रमुखमा पूर्णबहादुर गुरुङ र उपप्रमुखमा बुनाकुमारी रिमाल निर्विरोध हुनुभएको छ । जिससमा एमाले र गठबन्धनका बीचमा समान ७ मत रहेपछि सहमतिमा जिसस गठन गरिएको थियो । जिसस सदस्यमा एमाले, कांग्रेस र माओवादीबीच भागबण्डा भएको थियो । गोरखा जिससमा माओवादी केन्द्रको एकल नेतृत्व आएको छ । प्रमुखमा माओवादीका मोहनबहादुर थापा र उपप्रमुखमा लीला परियार निर्वाचित हुनुभयो । ९ सदस्यीय जिससमा माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो ।

बागलुङको जिसस गठबन्धनले जितेको छ । गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता अमरबहादुर थापा जिसस प्रमुख निर्विरोध निर्वाचित हुनुभएको छ भने उपप्रमुखमा एकीकृत समाजवादीका होमनाथ शर्मा विजयी हुनुभएको छ । कांग्रेस माओवादी र जसपाले जिसस सदस्य पाएका छन् । स्याङ्जा जिससमा गोलाप्रथाबाट नेतृत्व टुंग्याइएको छ । कांग्रेस र एमालेको ११–११ मत भएपछि गोलाप्रथा गरिएको थियो । एकातिर प्रमुखसहित ४ सदस्य र अर्कातिर उपप्रमुखसहित ५ सदस्य रहने गरी गोलाप्रथा गरिएको थियो । प्रमुखसहित ४ सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित ५ सदस्य एमालेलाई परेको हो ।

मनाङ जिससको प्रमुख र उपप्रमुख गोलाप्रथाबाट टुंग्याइएको छ । गोला तान्दा प्रमुख पद एमालेलाई परेको छ । प्रमुखमा एमालेका चीनबहादुर घले, उपप्रमुखमा कांग्रेसका सुरेन्द्र गुरुङ निर्वाचित हुनुभएको छ । नवलपुरको जिससमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एमालेका बाबुराम विश्वकर्मा र उपप्रमुखमा एमालेकै शकुन्तला लम्साल विजयी हुनुभयो । तनहुँको जिसस निर्वाचन हुन बाँकी छ । तनहुँमा असार १३ गतेका लागि निर्वाचन तोकिएको छ ।