जनता टाइम्स

८ असार २०७९, बुधबार १५:५२

संबैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ स्थगित, यस्तो छ कारण


काठमाडौं, असार ८ । सर्वाेच्च अदालतमा संवैधानिक पदाधिकारीको नियुक्तिको बिषयमा आजदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ । सक्कल पाइल नआएको कारण सुनुवाई स्थगित भएको बताइएको छ ।

सर्वाेच्च अदालतका कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो । राष्ट्रपति कार्यालयले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको थिएन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाईविनै नियुक्त गरिएका ५२ संवैधानिक निकायका पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो । तर एक वर्ष भन्दा बढी समय भइसक्दा पनि यो रिटको किनारा लागेको छैन ।

संबिधानमा संसद नरहेको अवस्थामा सिफारिश भएको ४५ दिनमा राष्ट्रपतिबाट संबैधानिक निकायका पदाधिकारी नियुक्त हुने ब्यवस्था छ । ५२ जना पदाधिकारी संसद बिघटन भएको कारण संसदीय सुनुवाईबिनै नियुक्ति गरिएको हो ।