जनता टाइम्स

८ असार २०७९, बुधबार २०:१०

यसकारण रोकिने भयो स्वास्थ्य बीमावापत पाउने सेवा


काठमाडौं, असार ८। पूर्वका तीन वटा ठूला निजी अस्पतालले सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम रोक्ने चेतावनी दिएका छन् । उपचार गरेवापत पाउनु पर्ने रकम लामो समय देखि रोकिएको भन्दै तत्काल सोधभर्ना नगरे स्वास्थ्य बीमा कार्यक्रम रोक्ने बताएका हुन् । स्वास्थ्य बीमा गराए वापत रकम भुक्तानी नपाएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेज, मोरङको नोबेल मेडिकल कलेज र बिराटनगरको बिराट मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने तयारी गरेका हुन् ।

आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै तिनवटै अस्पतालले सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको हो । अस्पतालहरुले २०७८ मंसिरपछि बीमा कार्यक्रम वापतको रकम नपाएको भन्दै गुनासो गरेका छन् ।

बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बीमा बापतको ४५ करोड रुपैयाँभन्दा बढी लिन बाँकी रहेको बताउनुभयो । त्यस्तै, नोबेल अस्पतालका प्रतिनिधि भीम चन्दले ५४ करोड भन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । उहाँले बाध्य भएर कार्यक्रम बन्द गर्ने अवस्थामा पुगेको बताउनुभयो ।

चन्दले आफूहरुको पैसा रोकिँदा कलेजले ३ महिनादेखि कर्मचारी तथा प्राज्ञिक जनशक्तिलाई तलब खुवाउन नसकेको र यसको असर पठनपाठनमा पनि पर्ने जानकारी दिनुभयो । यस्तै बिराटले आफ्नो पनि ४५ करोड बढी रकम पाउन बाँकी रहेको दावी गरेको छ । यसअघि बिमितको सेवा वापत भुक्तानी नपाएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको थियो ।