जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १९:०१

बिद्युतीय बस खरिदका लागि साझा यातायातमा तीन अर्ब लगानी गर्दै सरकार


काठमाडौं, साउन २ । सरकारले विद्युतीय बस खरिदका लागि साझा यातायातमा शेयर लगानी गर्ने भएको छ । तीन सय थान नयाँ विद्युतीय बसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् सरकारले साझा यातायातमा लगानी गर्न लागेको हो ।

सरकारका प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक सो जानकारी दिनुभएको हो । मन्त्री बाँसकोटाका अनुसार नयाँ विद्युतीय बस खरिदका लागि सरकारले साझामार्फत् लगानी गर्ने निर्णय गरेको हो ।

‘तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई तीन अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय गरिएको छ’, मन्त्री बाँसकोटाले भन्नुभयो । सरकारले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धकमा नारायणप्रसाद बास्तोला नियुक्त गर्ने निर्णयसमेत गरेको हो ।