जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार १९:११

नेपालको समृद्धिका लागि भारत-चीनसँगको सहकार्यलाई अझै बढावा दिनुपर्छ : माधव नेपाल


काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको भन्दै सो सम्बन्धलाई मुलुकको समृद्धिमा भरपुर सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।

काठमाडौंमा आज आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो । उहाँले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने तथ्य पनि राख्नुभयो । ‘दुवै देशसँग नेपालको घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढावा दिँदै जानुपर्छ,’ नेता नेपालले भन्नुभयो । उहाँल भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने धारणा पनि राख्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताउनुभयो । दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि मन्त्री ज्ञवालीको भनाई थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

उहाँले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको प्रतिवद्धता जनाउनु भयो ।