जनता टाइम्स

९ असार २०७९, बिहीबार १६:२७

मन्त्रीबाट हटाए मेरा लागि माधव नेपाल मरेतुल्य बराबर : रामकुमारी झाँक्री


काठमाडौं, असार ९ । शहरी बिकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रीबाट हटाए नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्ना लागि मरेतुल्य हुने घोषणा गर्नुभएको छ । अध्यक्ष नेपालकै निवास कोटेश्वरमा मन्त्री झाँक्रीले यस्तो घोषणा गर्नुभएको हो ।

नेकपा एकीकृत समाजवादीले गत साता शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाइएका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्ण गरेको थियो । चर्काे दवाव दिँदा पनि प्रधानमन्त्रीले अस्वीकार गर्दै मन्त्रीहरुले नै राजीनामा दिएर पार्टी निर्णय कार्यान्वयन गर्दा राम्रो हुने सुझाउनु भएपछि अध्यक्ष नेपालले निर्णय कार्यान्वयनमा सहज पार्न चार मन्त्रीलाई निवासमा बोलाउनु भएको थियो ।

अध्यक्ष नेपालले मन्त्री भन्दा पार्टी ठूलो भन्दै राजीनामा दिन सुझाउँदा झाँक्रीसहित प्रेम आलेले ठाडै अस्वीकार गर्दै अपमानसमेत गर्नुभएको एक सुरक्षाकर्मीले जनताटाइम्स डटकमलाई बताए । ती सुरक्षाकर्मीका अनुसार ठूलो ठूलो स्वरमा मन्त्री झाँक्रीले मन्त्री पद छाडदै नछाडने अडान लनुभएको थियो भने मन्त्रीबाट हटनु परे माधव आफ्ना लागि मरेतुल्य भएको घोषणा गर्नुभएको हो ।

‘मन्त्री (झाँक्री)ज्यूले ठुल्ठुलो स्वरमा कराउनु भएको बाहिर नै सुनियो, उहाँले राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष (माधव नेपाल) मरेतुल्य बराबर हुनुभयो भन्दै जंगिनुभयो,’ माधव र मन्त्रीबीचको संवाद सुनेका अर्का सुरक्षाकर्मीको भनाई थियो । कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरेलगत्तै सहरी विकासमन्त्री झाँक्रीले आपत्ति जनाउनु भएको हो ।

सहरी बिकाशमन्त्री झाँक्रीको सार्वजनिक अभिब्यक्तिले पनि लफडा परेको तथ्य उजागर गर्छ । माधवसँग बाझाबाझ गरेर फर्किएपछि मन्त्री झाँक्रीले बुधवार राती सामाजिक सञ्जालमा कडा शब्द प्रयोग गर्नुभएको थियो । बुधवार राती झाँक्रीले मुस्कुराएको सेल्फीसहित लेख्नुभएको थियो, ‘स्ट्रगल फर एक्जिस्टेन्स ।’ यस्को नेपाली अर्थ हो, ‘अस्तित्वका लागि संघर्ष ।’