जनता टाइम्स

९ असार २०७९, बिहीबार १७:०५

मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादको योगदान महत्वपूर्ण : अध्यक्ष ओली


काठमाडौँ, असार ९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टंकप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउनुभएको छ । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा उक्त धारणा व्यक्त गर्नुभएको हो ।

मुलुकमा परिवर्तन ल्याउन टंकप्रसादले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ,’ उहाँले भन्नुभयो । आचार्यले गठन गर्नुभएको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उहाँले बताउनुभयो । उहाँले टंकप्रसाद आचार्यको विचार र संगठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गर्नूभयो । ‘टंकप्रसाद आचार्यलाई मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो,’ उहाँले भन्नुभयो ।पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।’उहाँले प्रजापरिषद् नामेट पार्न एमालेमा गाँभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताउनुभयो ।

‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्,’ उहाँले भन्नुभयो । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छर्नुभएको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताउनुभयो । टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चारवटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ ।यसैबीच, सोही कार्यक्रममा अरविन्द रिमाल र महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्‍याएको योगदानस्वरुप सम्मान गरिएको थियो ।