जनता टाइम्स

९ असार २०७९, बिहीबार १९:२२

रवि लामिछानेको दल दर्तादेखि स्वतन्त्र उम्मेदवारको होडवाजीबारे ओलीले खोले मुख, यस्तो छ निश्कर्ष (भिडियोसहित)


काठमाडौं, असार ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नु र राजनीतिमा स्वतन्त्र युवाहरूको लहर आउनुलाई स्वाभाविकरूपमा लिनुपर्ने धारणा राख्नुभएको छ ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आज आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो । उहाँले मुलुकमा स्थापित राजनीतिक दलहरू युवाको भावनासम्म पुग्न नसकेकाले क्षति भर्नका लागि नयाँ मानिस आउने यथार्थ पनि औल्याउनु भयो ।

मुलुकमा आज पनि एमाले र कांग्रेस नै मुख्य पार्टी रहेको तथ्य पनि उहाँले राख्नुभयो । ‘मुलुकमा आज पनि एमाले र कांग्रेस नै मुख्य पार्टी रहेको छ । दुवै दलले राम्रो काम नगर्दा यो भन्दा राम्रो गर्छु भनेर आउनेलाई रोक्न हुन्न,’ ओलीले भन्नुभयो । उहाँले आम जनताको भावना बुझ्न नसके दल पनि बिस्थापित हुने बताउनु भयो ।

आफ्नो मान्यता स्पष्ट पार्दै ओलीले थप्नुभयो, ‘युवाहरूमा फ्रस्टेसन छ भनिथ्यो अलि एक–दुई वर्षअघिघसम्म । युवाहरू पार्टीमा संगठित हुन पाएनन वा पार्टीहरू युवासम्म पुग्न सकेनन । विचार सम्प्रेषण गर्न सकेनन र पार्टीले युवालाई आफ्नो विचारमा समेट्न सकेनन । यस्तो ठाउँमा उनीहरू आफैं संगठित भएर आउनु स्वाभाविक हो । युवामा राजनीतिप्रतिको आकर्षण हुन राम्रो कुरा हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।’

उहाँले स्वतन्त्रहरूको एउटा लहर आएको भन्दै भेलमा माछा समाउँछु भन्नेहरू अर्थात ब्यवस्था बिरोधी पनि मिसिएको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले स्वतन्त्रको भेलमा राजतन्त्रको उत्खनन गर्नेहरु पनि देखिएको बताउनु भयो ।

पत्रकार, कलाकार पनि यो भेलमा आइरहेको भन्दै उहाँले अरुलाई नालायक भनेर आफूमात्र लायक भन्नेहरू थोत्रो राजतन्त्रको उत्खनन गरिरहेको आफ्नो निश्कर्ष सुनाउनु भयो । उहाँले चिनिएको छु भनेर राजनीतिमा आउनेको बिचार नहुने पनि बताउनु भयो ।