जनता टाइम्स

१० असार २०७९, शुक्रबार ०८:२६

नेकपा एसबाट मन्त्री बनेकाले माधव नेपाललाई दिए छुट्टै पार्टी खोल्ने चेतावनी


काठमाडौं, १० असार ।  नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिनुभएको छ । नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साउनुभएकी मन्त्री झाक्रीले उहाँलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिनुभएको छ ।

फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी‘को उदाहरण दिँदै उहाँले नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क समते गर्नुभयो। झाँक्रीले ग्याब्रिएला फिलिपिन्सको एउटा प्रगतिशील राजनीतिक पार्टी भएको बताउँदै जसले महिलाको विषय र संसदमा महिलाको प्रतिनिधित्वबारे वकालत गर्ने उहँले दाबी गर्नुभएको छ । सरकारबाट फिर्ता हुने विषयमा छलफल गर्न बिहीबार कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेका मन्त्रीहरूले आफूलाई फिर्ता गराउने भए पाँच शर्त पूरा गर्नुपर्ने अडान राखेका छन्।

उनीहरुले नयाँ मन्त्रीहरू समावेशी आधारमा छानिनुपर्ने, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एकै जिल्लाका दुई मन्त्री बनाउन नहुने, राज्यमन्त्रीलाई मन्त्रीमा बढुवा गर्न नपाइने र राष्ट्रियसभाबाट बजेट पारित हुँदासम्म पर्खिने शर्त अगाडि सारेका छन्। त्यसलगत्तै बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीका कुनै शर्त मान्य नहुने र पार्टीले गरेको निर्णय मान्नुपर्ने निर्णय गर्‍यो। बैठकले मन्त्रीहरू हेरफेरको निर्णय केही घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ। बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनाशर्त लागू हुनुपर्ने बताउनुभयो। ​उहाँले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि शर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम शर्त हुने बताउनुभयो । त्यसपछि एकीकृत समाजवादीको विवाद झनै गहिरिएको छ।