जनता टाइम्स

१० असार २०७९, शुक्रबार १४:००

हाम्रो पार्टीका मन्त्रीहरु गैरजिम्मेवार र नैतिकहीन देखिए : मेटमणि चौधरी


काठमाडौं, असार १० । नेकपा एकीकृत समाजवादी सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरी आफ्नै पार्टीका मन्त्रीहरुमाथि खनिनु भएको छ । पार्टी निर्णयको अबज्ञा गरेर मन्त्रीहरु गैरजिम्मेवार र नैतिकताहीन बनेको भन्दै चौधरीले आक्रोश पोख्नुभएको हो ।

काठमाडौंमा जारी पोलिटव्युरो बैठकको क्रममा पत्रकारसँग चौधरीले भन्नुभयो, ‘हाम्रा पार्टीका मन्त्रीहरु गैरजिम्मेवार देखिए, नैतिकता पनि देखिएन ।’ उहाँले पार्टीले पठाएका मन्त्रीहरूले गैर जिम्मेवार व्यवहार देखाएको भन्दै उनीहरू मन्त्री बन्ने बेला जुन ठाउँमा निर्णय भएको हो अहिले पनि त्यही ठाउँबाट भएको बताउनु भयो । ६ महिनाका लागि मन्त्री बनेकाहरूले ९ महिनासम्म खाएको भन्दै नैतिकता भए पार्टीले निर्णय गर्नासाथ राजीनामा गर्नुपर्ने चौधरीको भनाई छ ।

चौधरीले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको निर्णयलाई बेवास्ता गर्नुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हात रहेको आरोप पनि लगाउनु भयो । चौधरीले सत्ता गठबन्धनको एउटा दलको सिफारिस कार्यान्वयन नहुने हो भने गठबन्धनमा बस्नुको औचित्य सकिने पनि बताउनु भयो ।

‘सत्ता गठबन्धनको एउटा दलको सिफारिस कार्यान्वयन नहुने हो भने गठबन्धनमा बस्नुको औचित्य हुन्न,’ चौधरीले भन्नुभयो, ‘कि त नेकपा एस चाहिँदैन भनेर प्रधानमन्त्रीले भन्नुपर्छ ।’ नेकपा एसकै कारण माओवादी अहिले सरकारमा रहेको र धेरै मन्त्री पाएको भन्दै उहाँले पार्टीको सार्वभौम निर्णयमाथि प्रचण्डले हस्तक्षेप गरेको जिकिर गर्नुभयो ।