जनता टाइम्स

११ असार २०७९, शनिबार ०५:३०

अमेरिकामा सर्वोच्च अदालतले खोस्यो गर्भपतन गर्न पाउने संवैधानिक अधिकार


वासिंगटन,११असार। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले त्यहाँका महिलाले गर्भपतन गर्न पाउने संवैधानिक अधिकार खोसेको छ।
सन् १९७३ मा रोय विरूद्ध वेडको मुद्दामा आदेश दिँदै सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई महिलाको संवैधानिक अधिकारको रूपमा स्थापित गरेको थियो। उक्त आदेशसँगै देशैभर गर्भपतन वैध हुन पुगेको थियो। सर्वोच्च अदालतको यो निर्णयलाई पहिल्यैदेखि गर्भपतन अधिकारमा प्रतिबन्ध वा सीमा तोक्न माग गरिरहेका रिपब्लिकन र धार्मिक अनुदारहरूको क्षणिक विजयको रूपमा लिइएको छ।

अनुदारवादीहरूको बहुमत रहेको सर्वोच्च अदालतले १५ हप्तापछि गर्भपतन गर्न नपाइने मिसिसिपीको कानूनको सहारा लिँदै सर्वोच्चको नजीर उल्टाएको हो। निर्णयसँगै प्रधानन्यायाधीशले बेग्लै टिप्पणी लेख्दै आफूले मिसिसिपीको कानून प्रयोग मात्रै गरेको तर अघिल्ला नजिर उल्टाउन थप कुनै कदम नचालेको उल्लेख गरेका छन्। ।

सन् १९७३ को फैसलामा सर्वोच्च अदालतले संयुक्त राज्य अमेरिकाको संविधानले प्रदान गरेको व्यक्तिगत गोपनियताको अधिकार अन्तर्गत महिलाले आफ्नो गर्भपत गर्नसक्ने उल्लेख गरेको थियो।

गर्भपतनको अधिकार संवैधानिक अधिकारको रूपमा नरहने सर्वोच्च अदालतको यो निर्णयले अमेरिकाका विभिन्न राज्यले गर्भपतनलाई अवैध घोषणा गर्ने कानून बनाउने छुट दिएको छ। अमेरिकाका ५० मध्ये २६ राज्य पहिले नै गर्भपतनलाई गैरकानूनी घोषणा गर्न तम्तयार छन् ।