जनता टाइम्स

११ असार २०७९, शनिबार ०७:२९

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने, प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य


काठमाडौ,११असार। मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने भएको छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका अनुसार आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने छ । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ ।

सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने उल्लेख गरिएको छ । मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ ।