जनता टाइम्स

११ असार २०७९, शनिबार ०७:४२

राजधानीका यी ठाउँमा भेटिए हैजाका जीवाणु, महामारीकै रुपमा फैलनसक्ने विज्ञको चेतावनी


काठमाडौ,११असार। काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबार साँझसम्म ८ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा। मनीषा रावलले बताइन् ।

अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको जनस्वास्थ्यविद्हरुको अनुमान छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको महाशाखाले जनाएको छ ।

सरकारले काठमाडौँ महानगरसहित विश्व स्वास्थ्य संगठन र यूनिसेफलाइ हैजा नियन्त्रणमा सहकार्यका लागि आग्रह गरेको छ । हैजा फैलिएका स्थानीय तहबाटै सचेतनामूलक कार्यक्रम गर्न भनिए पनि पूणर्रूपमा फोहोर व्यवस्थापन नभइसकेको र पानीको अपर्याप्तता रहेको काठमाडौँमा हैजा नियन्त्रण चुनौतीपूर्ण हुने देखिएको छ ।