जनता टाइम्स

११ असार २०७९, शनिबार ०९:४५

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासमा बाढी : ६ वटा वडाका नागरिक प्रभावित


सिन्धुपाल्चोक, ११ असार । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची आसपासमा गएराति बाढी आएको छ । बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।गएको वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

स्थानीय बासिन्दा घर छोडेर सुरक्षित ठाउँमा गएका थिए । मध्यराति घर छोडेर अग्लो ठाउँमा गएर बसेको हेलम्बुकी प्रभा भण्डारीले बताउनुभयो ।अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो ।

अस्थायी पुलमा क्षति भएपछि हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पालका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् ।अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले हेलम्बु र मेलम्चीमा रहेका मोटरेबल र झोलुङ्गे पुलमा क्षति पुगेको थियो।

हिउँदमा सहज भए पनि वर्षायाम लागेसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।वैकल्पिक बाटो प्रयोग गर्दा लामो समय लाग्ने गरेको छ । हेलम्बुको चनौटेमा सेनाले बेलीबृज बनाएको छ भने मेलम्चीमा बाहुनेपाटी पुग्नुपर्ने बाध्यता रहेको छ।