दाङ, असार ११। लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य राज्यमन्त्री विमला वलीका ‘प्रेमी’ भनिने एकराज बस्नेतले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै वलीमाथि कारबाही माग गर्नुभएको छ ।
जेठ ३१ गते बस्नेत घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर बस्नेतकी श्रीमति र छोरीलाई पिटेको, घरमा तोडफोड गरेकाले वलीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष बस्नेतले यस्तो बताउनु भएको हो । बस्नेतको श्रीमतीले वलीले घरमा पुगेर ‘मेरो पोई खोई ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको छ ।
छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताउनु भएको छ । वली र बस्नेतका बीचमा आर्थिक लेनदेनको कारोबार पनि रहेको खुलेको छ । जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई वलीले एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गर्नुभएको थियो ।
घटना भएको दोस्रो दिन चर्काे दवावपछि प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य छानबिन गर्न कार्यदल गठन गरेको हो । त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेतासमेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोवार आफूको भएकोले छोराछोरी र श्रीमतीसँग गरिएको दुब्र्यवहार र कुटपिटको सजाय वलीले पाउनुपर्ने बताउनु भएको हो ।
आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार असोभनीय रहेको भन्दै राज्यमन्त्री वली त्यस बापत कारबाहीको भागिदार हुनुपर्ने बस्नेतले छानबिन समिति समक्ष माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्