जनता टाइम्स

११ असार २०७९, शनिबार १४:२७

अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने–पछाडितर्फ ठूलो कदम


लन्डन, ११ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भन्दै कडा टिप्पणी गर्नुभएको छ ।

रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताउनु भयो ।

‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो । म सधैं महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु । म त्यो दृष्टिकोणमा अडिग छु । तसर्थ, बेलायतमा कानुन छ,’ जोनसनले भन्नुभयो । अमेरिकी सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो ।