काठमाडौं, असार ११ । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीभित्र खेल्न खोजेको निष्कर्ष निकालेको छ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीभित्रको तनाव व्यवस्थापन गर्ने नाममा देउवा र प्रचण्डले आफूहरुको पार्टीमा खेल्न खोजेको भन्दै खबरदारी गर्ने निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीले मन्त्री हेरफेरमा अब देउवा र प्रचण्डलाई नपर्खिने र निर्णय कार्यान्वयन नगरेसम्म सत्ता गठबन्धनबाट बाहिरिनेसम्मको अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएको छ।
‘मन्त्री हेरफेरका सम्बन्धमा आजसम्म हामीले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँलाई पर्खिने छैनौं। तत्काल नयाँ मन्त्रीहरुलाई सपथ गराउनुस। पार्टीको निर्णयलाई कदर गर्नुस। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने हामी यसलाई तपाईंहरुले गरेको अपमान ठान्ने छौं,’ केन्द्रीय समितिको निश्कर्ष सुनाउँदै बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो ।
खतिवडाले पार्टीको निर्णय कार्यान्वयन गर्नेभन्दा अर्काे बिकल्प प्रधानमन्त्री देउवासँग नरहेको पनि बताउनु भयो । ‘तपाईहरुले हेलचक्रयाई गर्दा, खेल्न खोज्दा, आफ्नो पार्टीभित्रको आन्तरिक तनाव व्यवस्थापन गर्न समय माग्दा आज हाम्रो पार्टीमा यहाँहरुले खेलेको जस्तो, अप्ठेरो पार्न खोजेजस्तो, हामीलाई लज्जित गर्न खोजेजस्तो देखिएको छ। यो तपाईहरुको कारणले भएको हो। यसलाई हामीलाई अपमान गरेकोजस्तो बुझेका छौं। अब ढिलाई नगर्नुस्। अब धेरै ढिलाइ भयो भने त्यसपछि गरौंला। गठबन्धनबाट बाहिरिनेसम्म सोच्न बाध्य हुनेछौं,’ बैठकको निर्णय सुनाउँदै खतिवडाले भन्नुभयो ।
प्रवक्ता खतिवडाले हस्ताक्षर फिर्ता लिएका ६ जना सांसदसहित १० जनाले सरकारमा पठाउने मन्त्रीको नाम संशोधन हुनुपर्ने भन्ने कुरामा अहिले सूची संशोधन नहुने प्रष्ट पार्नुभयो । पार्टीले गरेको निर्णय हुबहु कार्यान्वयन हुने उनको भनाइ छ। ‘समयक्रममा नाम थप्नुपर्ने कुरा होला। पार्टी आन्तरिक जीवनको कुरा हो। तर नाम संशोधन गरेर पठाइँदैन,’ खतिवडाले भन्नुभयो ।
प्रवक्ता खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीलाई नभएको पनि स्पष्ट पारे। ‘भएका साथीले मन्त्रीबाट बिदा लिने र नयाँले मन्त्री लाने कुरामा पार्टीलाई कुनै शर्त मानिँदैन,’ खतिवडाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्