जनता टाइम्स

३ श्रावण २०७६, शुक्रबार ०९:३०

क्यावात ! ओली सरकार : १५ महिनाअगावै आउन थाल्यो पेट्रोलियम पाइपलाइनबाट इन्धन


काठमाडौं, साउन ३ । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सफल भएको छ । परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समय अगावै पेट्रोलियम पदार्थ अमलेखगञ्ज आउने भएको हो ।

परीक्षणको क्रममा बुधवार पठाइएको पेट्रोलियम पदार्थ बिहीवार राती अमलेखगञ्ज आइपुगेको छ । मोतिहारी अमलेखगञ्ज पेटरेलियम पाइपलाइन आयोजना ३० महिनामा सम्पन्न गर्ने गरी १५ महिनाअघि सुरु गरिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले परीक्षणका रूपमा पेट्रोलियम ल्याउन थालिएको बताउनु भयो । “हामी साउनभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारीमा छौंँ । ” पेट्रोलियम पाइपलाइन राष्ट्रिय गौरवको आयोजना पनि हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष चासो र पहलकदमी रहेको यो आयोजना सरकारले बिशेष अनुगमनलाई निरन्तरता दिएकै कारण पन्ध्र महिना अगावै पेट्रोलियम पदार्थ ल्याउने अवस्थामा पुगेको हो । भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । “अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ,” गोइतले भन्नुभयो । पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले कार्यभार निगमको कार्यभार सम्हालेलगत्तैबाट आयोजना सम्पन्न गर्न बिशेष अनुगमन अघि बढाउनु भएको थियो । उदयपुरसिमेन्दमा जादु गरेर नाफामा लग्नुभएका पौडेलले आयाल निगममा पनि यसअयोजनालाई लक्ष्य भन्दा आधा समय अगावै सम्पन्न गराउनु भएको हो । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ ।

अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणको संरचना निर्माण सकिएको छ । कुल ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्थामा छन् । १०.७५ इन्च व्यासको पाइपबाट प्रतिघन्टा ३ लाख लिटर आपूर्ति हुनेछ । पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच २०७२ सालमा सम्झौता भएको थियो । दैनिक २० घन्टा पाइपलाइन सञ्चालन गर्दा चार हजार किलोलिटर डिजेल ल्याउने क्षमताको पाइपलाइन छ । पाइपलाइन सञ्चालनपछि महिनामा ९० करोड रुपियाँ ढुवानी भाडा बचत हुनेछ । डिजेल ल्याउँदा वार्षिक दुई अर्ब रुपियाँ नेपालको बचत हुने निगमले जनाएको छ ।

कुल दुई अर्ब ७५ करोड रुपियाँ लागतमध्ये पाइप लाइनका लागि दुई अर्ब रुपियाँ र अमलेखगञ्ज डिपो निर्माणका लागि ७५ करोड रुपियाँ लगानी गरिएको छ । जसमा दुई अर्ब रुपियाँ भारत सरकारको र ७५ करोड रुपियाँ नेपाल आयल निगमको लगानी हो । निगमका अनुसार अमलेखगञ्जमा भण्डारण टङ्की रहेको छ । हाल २३ हजार किलोलिटर क्षमताको टङ्की रहेकोमा ४२ हजार किलोलिटर क्षमता भएको टङ्की निर्माण भएको छ । सो टङ्की निर्माणपछि एकै पटकमा २४ वटा गाडीले इन्धन भर्न मिल्नेछ । जसअनुसार दैनिक तीन सय गाडीले तेल भर्न मिल्नेछ ।

प्रवक्ता गोइत भन्नुहुन्छ, “पाइप लाइनबाट ल्याउन थालिएपछि ढुवानी गर्नु परेन, ढुवानी खर्च बचत भयो, मिसावटको समस्या रहेन, भन्सारमा हुने चेकजाँचका समस्याहरू हुँदैन, बन्द हडतालले पनि असर गर्दैन, समयको पनि बचत भयो, सबै हिसाबले भरपर्दो छ । त्यसैले पनि छिटो काम सम्पन्न गरेका हौँ । ” हाल अमलेखगञ्ज डिपोका लागि भारतबाट ढुवानी गर्न सात सय ट्याङ्कर सञ्चालित छन् । निगमका अनुसार हाल मासिक पेट्रोलको आपूर्ति करिब ५० हजार किलोलिटर रहेको छ । डिजेल करिब एक सय ८० किलोलिटर रहेको छ भने मट्टितेल दुई हजार किलोलिटर रहेको छ । हवाई इन्धन २० हजार किलोलिटर आपूर्ति हुँदै आएको थियो ।

अमलेखगञ्जसम्मको पाइप लाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने गरी छलफल भएको गोइतले जानकारी दिनुभयो । सन् १९९५ मा अन्तरदेशीय पेट्रोलियम पाइप लाइनका लागि नेपाल र भारतबीच समझदारी (एमओयू) भएको थियो तर काम हुन सकेन । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा आउनुहुँदा पाइपलाइन आयोजना अगाडि बढाउने प्रतिबद्धता गरेपछि थालिएको थियो । सन् २०१५ को अगस्टमा नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको थियो ।