जनता टाइम्स

१२ असार २०७९, आईतवार १५:३०

शिक्षामन्त्रीले नै दिए बजेटमा त्रुटी नै त्रुटी रहेको प्रमाण


काठमाडौं, असार १२ । बिचौलिया प्रयोग गरी बजेटमा करको दर हेरफेर गरेको प्रमाण बाहिरिएपछि बिवादमा पर्नुभएका अर्थमन्त्री जनार्दन शर्मामाथि सरकारकै एक जना मन्त्रीले नै गम्भीर आरोप लगाएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अर्थ मन्त्रालयले बजेट पेश गर्दा त्रुटी नै त्रुटी गरेको भन्दै आजको राष्ट्रियसभा बैठकमा शर्माको पोल खोल्नुभएको हो । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट काटेको बताउनु भयो ।

उहाँले मन्त्रालयले कक्षा ८ सम्म नै दिवा खाजाको व्यवस्थाको माग गरेर अर्थ मन्त्रालयलाई पठाएको तर आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा ८ सम्म दिवा खाजा पुर्याइने भने पनि बजेट प्रस्तुत हुँदा कक्षा ८ सम्म पुर्याउने गरी भन्ने भाषा प्रयोग गरी बेइमानी गरेको बताउनु भयो । पौडेलले यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै यसप्रकारका सबै त्रुटिहरू अर्थ मन्त्रालयले गरेको र सच्याउन आवश्यक रहेको बताउनु भयो ।

‘अर्थ मन्त्रालयले पनि बजेट त्रुटी भयो भन्नुभएको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा यो आएन । बजेटमा ८ सम्म पुर्याउने गरी हाललाई यो वर्ष ६ कक्षासम्म मात्र भन्ने भाषामा आयो,’ मन्त्री पौडेलले भन्नुभयो। ‘आगामी आर्थिक वर्षदेखि देशभरका विद्यालयहरूमा भौतिक पूर्वाधारको कुरा, विद्यार्थी संख्या, मर्जको कुरा, २ हजारभन्दा बढी विद्यार्थी भएको स्थानमा बस दिने कुरा छ । सम्पूर्ण पुस्तकहरू पनि डिजिटल विधिद्वारा पुर्याउने र पेपरलेस टोटल बनाउनका लागि डिजिटल बोर्ड र कम्प्युटरको प्रचुरता सबै ठाउँमा हुनुपर्छ । सबै विद्यालयमा प्रविधि पुर्याउन सक्ने बित्तिकै पेपरलेस प्रविधिलाई अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा छ,’ मन्त्री पौडेलले भन्नुभयो ।

उहाँले शिक्षासम्बन्धी हरेक कुराहरु डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भयो । सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी पनि उहाँले दिनुभयो ।