जनता टाइम्स

१२ असार २०७९, आईतवार १८:१९

रामकुमारी र प्रेम आलेले दिए मन्त्रीबाट राजीनामा : किसानले गरे नदिने घोषणा, बिरोध मौन


काठमाडौं, असार १२ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकबाटै फिर्ता बोलाउने निर्णय गरेपछि सहरी बिकाश मन्त्री रामकुमारी झाँक्री र पर्यटनमन्त्री प्रेम आलेले राजीनामा दिनुभएको छ ।

मन्त्री पद जोगाउन न्वारानदेखिको बल लगाउँदा पनि नसकेपछि झाँक्री र आलेले पत्रकार सम्मेलन गरी आफ्नो बिज्ञापन गर्दै राजीनामा दिनुभएको हो । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई चार मन्त्रीको नाम बुझाउँदै फिर्ता बोलाए पनि मन्त्रीहरु अटेर गरेर पदमा बसिरहेका थिए ।

आफ्नो कमाउ योजनामा पार्टी बाधक बनेपछि आक्रोशित बनेका चारै जना मन्त्री अन्ततः केन्द्रीय कमिटीबाट फिर्ता बालाउने निर्णय लिएपछि आज राजीनामा दिने घोषणा गरेका हुन । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानले भने राजीनामा नदिने घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्दा आफू स्वतः बाहिरने भएकोले पत्रकार सम्मेलन गरेर राजीनामाको नाटक गर्नै नपर्ने बताउनु भयो । स्वास्थ्यमन्त्री बिरोध खतिवडाले भने अहिलेसम्म यस बिषयमा केही बताउनु भएको छैन ।