जनता टाइम्स

१२ असार २०७९, आईतवार १८:३५

मन्त्री छाडनु पर्दा धुरुधुरु रोइन रामकुमारी झाँक्री


काठमाडौं, असार १२ । नेकपा एकीकृत समाजवादीका सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्री पद छाडनु पर्दा धुरुधुरु रुनुभएको छ । पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेर मन्त्रालयबाट बिदा हुन लाग्दा देखिएको अश्रुधाराले झाँक्रीको पीडा छरपष्ट भएको हो ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनको सुरुमै झाँक्रीले आँसु थाम्न सक्नुभएन । निकै भावुक बन्दै अपमान महसुस गरी उहाँ रुनुभएको हो । पार्टीले केन्द्रीय कमिटी बैठकबाटै फिर्ता बोलाएपछि मन्त्री नछाडने अडानमा रहनुभएकी नेतृ झाँक्री आज राजीनामा दिनैपर्ने बाध्यतामा पुग्नुभएको हो ।

सोहीअनुसार राजीनामा दिने घोषणा गर्न आयोजित पत्रकार सम्मेलन सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै अश्रुधारा बगाउनु भयो अनि टिस्यु पेपरले आँसु पुछनु भयो ।

झाँक्रीले केही दिन अघि अध्यक्ष माधवकुमार नेपालसँग ‘मन्त्रीबाट बाहिरिनु परे तपाईं मेरो लागि मरेतुल्य’ भन्दै कडा आक्रोश पोख्नुभएको थियो । तर सम्मानित नेता झलनाथ खनालसमेत मन्त्री फिर्ताको अडानमा टसमस नभएपछि शनिवार बसेको केन्द्रीय कमिटी बैठकले चारै जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।