जनता टाइम्स

१२ असार २०७९, आईतवार १९:२९

ओली–प्रचण्डसँग चिनियाँ राष्ट्रपती सीका दूतको छुट्टाछुट्टै बार्ता, यस्तो छ निश्कर्ष


काठमाडौं, असार १२ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला वामपन्थी दलका शीर्ष नेतासँग वार्ता गरेका छन ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमार्फत जनाएको छ । प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको विभागले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।

भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र एमओयुमा हस्ताक्षर पनि भएको सिपिसीले जनाएको छ । भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउ पनि सहभागी हुनुहुन्थ्यो ।

दाहालसँग बिहीबार भएको कुराकानीमा चिनियाँ नेता लिउले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी रहेको उल्लेख गर्नुभएको छ । उहाँले दुई मुलुकका भविष्य साझा रहेको समेत बताएको सिपिसीले उल्लेख गरेको छ ।

सिपिसीका महासचिव समेत रहनुभएका चिनियाँ राष्ट्रपति सि चिनफिङको सन् २०१९ मा सम्पन्न नेपाल भ्रमणको प्रसंग निकाल्दै नेता लिउले उक्त ऐतिहासिक यात्रापछि दुई देशबीचको सम्बन्ध विकास र समृद्धिको लागि रणनीतिक साझेदारीमा स्तरोन्नति भएको बताउनु भएको छ । उहाँले सीको भ्रमणपछि द्विपक्षीय सम्बन्ध द्रूत विकासको नयाँ युगमा प्रवेश गरेको समेत बताउनु भयो ।

चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक रहेको भिडिओ कुराकानीमा लिउले बताउनु भएको छ ।

चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताउँदै दुवै पार्टीसँगको आदानप्रदानलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताएको सिपिसीले उल्लेख गरेको छ । निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताउनु भएको छ ।

भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएको सिपिसीले जनाएको छ । त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाउनु भएको छ ।

यसअघि चीनले नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेकोमा प्रशंशा गरेको थियो । बिहीबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयबारे यस्तो बताउनु भएको हो ।