जनता टाइम्स

१३ असार २०७९, सोमबार ०६:२०

दिलमायाका प्रेमीको बयान : रातीसम्म बसेर लोकल रक्सीपिएका थियौं, त्यसपछि..


काठमाडौं, असार १३ । आइतबार नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी दिलमाया विकको हत्या भएको आशंका गरिएको छ। जिल्ला अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता कृष्ण कोइरालाकाअनुसार गायिकाको मृत्यु शंकास्पद रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने केही प्रमाणहरु फेला परेका छन।

कोइरालाकाअनुसार गायिकाले मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्। घटनामा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठ र दिलमायाबीच निकट सम्बन्ध रहेको खुलेको छ। उनको शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। आफन्तहरु सुर्खेतबाट आइनसकेकाले पोष्टमार्टम हुन सकेको छैन। पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै घटनाको बारेमा थप जानकारी हुने कोइरालाले जानकारी दिनुभयो।

घटनाको अनुसन्धानमा रहेका प्रहरीकाअनुसार प्रक्राउ परेका सूर्य श्रेष्ठले आफूले दिलमायाको हत्या नगरेको बताएका छन्। गायिका दिलमायाका एक छोरा छन्। श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनी नेपालटारमा डेरामा बस्ने गर्थिन्।

श्रेष्ठ र गायिका दिलमायाबीच पछिल्लो केही समयदेखि निकट सम्बन्ध रहेको जानकारी प्रहरीले पाएको छ। प्रारम्भिक अनुसन्धानमा घरबेटी र साथीसँग गायिकाले श्रेष्ठसँग विहे गरेको बताउने गरेको खुलेको छ।

मृत्यु प्रकरणमा जोडिएका श्रेष्ठले सुनचाँदी व्यवसाय गर्छन्। उनी गएराति विककै कोठामा बसेका थिए। प्रहरीको बयानमा श्रेष्ठले गएराति दिलमायाको कोठामा बसेको र सँगै बसेर लोकल रक्सी पिएको बताएका छन्। बयानमा उनले भनेका छन्, ‘रातिसम्म बसेर रक्सी पिएका हौं। रक्सी लागेपछि त्यही कोठामा सुतेका हौं। विहान म ब्युँझदा उनी कोठामा झुण्डिरहेको देखे। झुण्डिएको देखेपछि हतार हतार सल खोलेको थिए। त्यतिवेलासम्म उनको शरीर चिसो भैसकेको थियो।

बयानमा उनले दिलमाया मरिसकेपछि आफूलाई निकै डर लागेको र मृत शरीर त्यही छाडेर भागेको बताएका छन्। झुण्डिदा प्रयोग गरिएको भनिएको सल चक्रपथको सडकको नालीमा लगेर फालेको पनि उनले बताएका छन्। यसका साथै उनले दिलमायाले पहिलेदेखि नै आत्महत्याको कुरा गरिरहने भन्दै प्रहरीलाई बताएका छन्।

लाइभ दोहोरीका कारण चर्चामा आएकी दिलमाया विकले आफूलाई माया गर्ने कोही नभएको, जीवनदेखि हार खाएको र बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन्। मृतक विकको मोबाइल अहिलेसम्म नभेटिएको प्रहरीले जानकारी दिएको छ। सामाजिक सञ्जालमा लेखिएको स्टाटस र घटनास्थलमा भेटिएको सुसाइड नोट पनि गायिका आफैले लेखेको हो हैन अनुसन्धान भैरहेको एसपी कोइरालाले बताउनु भएको छ। उहाँका अनुसार गायिका विकको घाँटीमा निलो दाग भेटिएको छ। उनको शरीरमा कुनै चोट भने देखिएको छैन।