काठमाडौं, १३ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताउनु भएको छ ।
मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ बिषयक अन्तरसम्वाद कार्यक्रममा पोखरेलले यस्तो बताउनुभएको हो ।
पोखरेलले भन्नुभयो,‘मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’ महासचिव पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) ले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा आएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै सिकेका उहाँले दाबी गर्नुभयो । मदन जयन्तीका अवसरमा पोखरेलले मदन भण्डारीलाई सम्झँदै नेपालमा टुटेर फुटेर बसेका कम्युनिष्टलाई समेटेर एकीकृत विशाल कम्युनिष्ट पार्टी निर्माण गर्दै विश्वमा परिचित गराउने प्रभावशाली र प्रतिभावान नेताको रुपमा आफूले मदनलाई बुझेको जनाउनुभयो ।
विश्व कम्युनिष्ट आन्दोलनमा कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्ने दूरदृष्टि भएका नेता मदन भण्डारी भएको पोखरेलले बताउनुभयो । आजको समयमा नेपालका मिडियाहरु तथ्यपरक भन्दापनि मिडिया मालिकको इशारामा चल्ने गरेकाले स्वतन्त्र अभिव्यक्ति छायाँमा पर्ने गरेका उहाँले उल्लेख गर्नुभयो ।
स्वतन्त्र अभिव्यक्तिलाई सञ्चार माध्यममा ल्याउन सञ्चारमाध्यमहरू नै स्वतन्त्र हुनुपर्ने उहाँको सुझाव छ । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले मदन भण्डारी नेपालका दार्शनिक भएको चित्रण गर्दै उनका विचारले नै नेपाललाई समृद्ध बनाउने र समाजवादको बाटोमा अघि बढाउने कुरामा दुइमत नरहेको बताउनुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमाले केन्द्रीय तहका नेताहरु, प्रचार तथा प्रकाशन विभागका सदस्यहरु, पत्रकार र अन्य सहभागीको उपस्थिति रहेको थियो । मदन जयन्तीका अवसरमा भोलि असार १४ गते देशभर विभिन्न कार्यक्रम राखिएको चौतारीका महासचिव हीरामान लामाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्