जनता टाइम्स

१३ असार २०७९, सोमबार २०:१०

विद्यालयमा बोटबिरुवाकै घेरबार हाल्ने अभ्यासको सुरुवात


खोटाङ, १३ असार । सामान्यतः घर, भवन वा जग्गाको आसपासमा तार जाली, ढुंगा माटो वा कंक्रिट संरचनाको घेरवार हाल्ने गरिन्छ । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमावि बाँसबोटेले आफ्नो क्षेत्रभित्र बोटबिरुवाकै घेरबार हुनेगरी प्राकृतिक घेरबार हाल्ने प्रयास थालेको छ ।

अभिभावक एवं सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राईको अवधारणा अनुसार विद्यालयको जग्गाको सिमाना आसपासमा तार जाली वा कंक्रिट संरचनाको सट्टा रुखबिरुवाको बार हाल्न सुरु गरिएको हो । सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राई लगायतले कदम, असुरो र सिमलीको बिरुवा रोपेर विद्यालयको प्राकृतिक घेरबार बनाउने अभियानको सुरुवात गरिएको छ ।

विद्यालयको करिब ४५ रोपनी जग्गा छ । त्यसमध्ये विद्यालयबाट उत्तर–पूर्व सिमानामा घेरबारको रूपमा विकास गर्नेगरी पङ्क्तिबद्ध बनाएर बिरुवा रोपिएको प्रअ जसराज किरातीले बताउनुभयो । विद्यालयको जग्गाको सिमाना छुट्याउनेगरी घेरबारका रूपमा विकास गर्नका लागि विद्यार्थीलाई कदम, सिमली र असुरोको बिरुवा ल्याउन लगाइएको थियो । विद्यालयका बाँकी क्षेत्रको सिमानामा क्रमशः बिरुवा रोपिने प्रअ किरातीले बताउनुभयो ।

गाउँघरमा बाटोघाटो र खेतबारीको गौंडामा बारका रूपमा कदम र सिमलीको बिरुवा रोप्ने प्रचलन यथावत् छ । त्यही सफल प्रचलनलाई विद्यालयले कार्यान्वयनमा ल्याउने प्रयास थालेको हो । तार जाली वा कंक्रिट संरचनाको सट्टा बोटबिरुवा हुर्काउँदा विद्यालय क्षेत्र हरियाली हुने र पर्यावरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताउनुभयो ।