जनता टाइम्स

१४ असार २०७९, मंगलवार ०७:४५

धार्मिक सद्भाव बिगारेको आरोपमा भारतका पत्रकार जुबैर पक्राउ


काठमाडौं १४ असार । धार्मिक सदभाव खलबलिने गतिविधि गरेको आरोपमा भारतको नयाँदिल्ली प्रहरीले अल्ट न्यूजका सहसंस्थापक पत्रकार मोहम्मद जुबैरलाई पक्राउ गरेको छ ।धार्मिक भावनामा चोट पुर्याउने गतिविधि गरेको भन्दै उहाँविरुद्ध उजुरी परेपछि जुबैरलाई अनुसन्धानका लागि सोमबार हिरासतमा लिइएको दिल्ली प्रहरीले जनाएको छ ।

मोहम्मद जुबैरले एक दशकभन्दा बढी समयसम्म टेलिकम क्षेत्रमा काम गर्नुभएको थियो। पछि उनी तथ्य जाँच (फ्याक्ट चेक) गर्दै आएको अल्ट न्यूजको सहसंस्थापक बनेर सक्रिय रहँदै आउनुभएको थियो ।हालै जुबेरले भाजपाकी नेतृ नुपुर शर्माले मुसलमान समुदायविरुद्ध बोलेको भिडियो क्लिप ट्वीट गर्नुभएको थियो ।

शर्माको अभिव्यक्तिको अभिव्यक्तिका कारण भारतमा हिंसात्मक प्रदर्शन भएको थियो भने विभिन्न मुस्लिम देशहरुले भाजपालाई माफी माग्न भनेको थियो । अन्ततः भाजपाले पार्टी प्रवक्तासमेत रहेकी शर्मालाई साधारण सदस्यसमेत नरहने गरी हटाएको थियो ।

त्यसअघि सन् २०१७ मा जुबेरले यति नरसिंहानन्द सरस्वती, बजरंग मुनि र आनन्द स्वरुपलाई घृणा फैलाउनेवाला भनेर टिप्पणी गरेका थिए ।

उनको गिरफ्तारीको भारतका नेताहरुले विरोध गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सिताराम यचुरी, समाजशास्त्री योगेन्द्र यादव लगायतले जुबैरलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।