जनता टाइम्स

१४ असार २०७९, मंगलवार ०९:३०

जसपाले पनि गर्यो मन्त्री फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई


काठमाडौं, असार १४ । नेकपा एकीकृत समाजवादीका मन्त्री फेरिएलगत्तै अर्काे सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्ना चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ नाम सिफारिस गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंहले बताउनु भयो । जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव, महेन्द्र यादव र रायशायप्रसाद यादव मन्त्री हुनुहुन्छ ।

अब उनीहरूलाई फिर्ता बोलाएर नयाँको नाम सिफारिस गरिने छ । जसपामा महत्वपूर्ण निर्णय लिँदा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अशोक राईलाई अधिकार दिइएको थियो । तर, सोमबार राति यादव पक्षका नेताहरूको बैठक बसी सबै अधिकार अध्यक्षलाई दिने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेसँगै जसपामा पनि मन्त्री हेरफेर गर्नुपर्ने आवाज उठ्दै आएको थियो । मोहम्मद इस्तियाक राईलगायतका नेताहरूको छुट्टै भेलाले मन्त्री हेरफेर गर्न नेतृत्वलाई दबाब दिँदै आएको थियो । सोहीअनुसार अहिले यादवले यस्तो निर्णय गरेका हुन् ।