जनता टाइम्स

१४ असार २०७९, मंगलवार १३:४७

टिकट हत्याउन महेशले गुरु घिमिरे र भीम पराजुलीमाथि नै कार्वाहीको सिफारिश गराएपछि


मोरङ, असार १४ । मोरङमा नेपाली कांग्रेस नेता महेश आचार्यलाई टक्टर दिइरहेका दुई नेतामाथि क्षेत्रीय समितिले कारवाहीको सिफारिश गरेपछि कांग्रेसभित्र तरंग छाएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिले विराटनगरका पूर्वमेयर भीम पराजुली र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलाई कारवाहीका लागि सिफारिस गरेपछि यस्तो अवस्था आएको हो ।

दुवै नेतामाथि स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई असहयोग गरेको आरोप समितिले लगाएको छ । कारवाही सिफारिसमा परेका दुवै नेताले मोरङ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दाबी गरिरहनु भएको छ । सो क्षेत्रबाट यसअघिका निर्वाचनमा कांग्रेस नेता आचार्य उम्मेदवार बन्दै आउनु भएको थियो । यस वर्ष हुने निर्वाचनमा पनि उहाँ उम्मेदवारी दावी गरिरहनु भएको छ ।

आचार्यलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ जान आग्रह गर्दै उम्मेदवारी दिने बताइरहेका दुई नेतालाई क्षेत्रीय समितिले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको दाबीसहित असार ९ गत कारवाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको थियो ।

पराजुली र घिमिरेलाई कारवाही सिफारिस गर्ने समितिका सभापति विनोद बस्नेत हुनुहुन्छ । उहाँ आचार्य निकटका हुनुहुन्छ । ‘आफ्ना नेतालाई चुनौती दिएपछि योजनाबद्ध रुपमा कारवाहीका लागि सिफारिस गरियो, अन्तर्घातको आरोप लगाइयो,’ पराजुली निकट नेताहरुको भनाई छ, ‘वडाको टिकट बाड्दा चलखेल भएका कारण उम्मेदवारले चुनाव हारे ।’

क्षेत्र नम्बर ४ मा २३ वटा वडा छन । जसमा कांग्रेस २० वडामा पराजित भएको छ । मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा विराटनगर महानगरपालिकासँगै कटहरी, ग्रामथान, बेलबारीलगायत पालिकाका २३ वडा छन । विराटनगर वडा नम्बर– ३ ले कांग्रेस केन्द्रीय सदस्य पराजुली र ग्रामथान गाउँपालिका– ६ नम्बर वडाले घिमिरेलाई कारवाहीका लागि क्षेत्रीय समितिमा सिफारिस गरेको थियो । क्षेत्रीय समितिले वडाको सिफारिस जिल्लामा पठाएको हो ।

उहाँका अनुसार क्षेत्रीय समितिले कारवाहीका लागि सिफारिस गरेपछि पूर्व मेयर पराजुली र पूर्व केन्द्रीय सदस्य घिमिरेले जिल्लामा उजुरी गर्नुभएको छ । दुई नेताले आइतबार दर्ता गराएको छुट्टा छुट्टै उजुरीमा कांग्रेस नेता महेश आचार्य, क्षेत्रीय सभापति विनोद बस्नेत र आचार्य निकट नेता विश्वनाथ रिजाललाई कारवाही माग गरिएको छ । उहाँहरुले टिकट वितरणमा आर्थिक चलखेल गरी राम्रा उम्मेदवारलाई टिकट नदिएको आरोप लगाइएको छ ।

कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका उम्मेदवारलाई जिताउनका लागि सहयोग गर्दा गर्दै नियोजित रुपमा आफू विरुद्ध कारवाहीको सिफारिस भएको बताउनु भएको छ । उहाँले उक्त कारबाही सिफारिसविरुद्ध केन्द्रीय समितिलाई बोधार्थ दिएर जिल्ला समितिमा उजुरी गरेको पुष्टि गर्नुभयो ।